सिकिस्त बिरामी बाहिरै, शव भने तीन दिनसम्म बेडमै

काठमाडौँ । सेती कोरोना विशेष अस्पताल धनगढीमा उपचार गराइरहेका कञ्चनपुरका ६२ वर्षीय एक पुरुषको बिहीबार बिहान निधन भयो । कुरुवा बसेका श्रीमती र छोरी आइसियू कक्षमा रुन थाले । उनीहरू शान्त हुन पाएका थिएनन्, दिउँसो शोकाकुल दिदीबहिनी आएर रुन थाले । अर्को दिन अर्थात् शुक्रबार टाढाका आफन्त आएपछि फेरि रुवाबासी भयो । शोकसन्तप्त आफन्त आउने, वेदना पोख्ने र जाने तीन दिनसम्म चहिरह्यो । बिहीबार मृत्यु भए पनि शनिबारसम्म शव आइसियू बेडमै थियो ।

मृत्यु भइसकेपछि शव किन उठेको छैन ? छिमेकी बेडका बिरामीका कुरुवाले सोध्दा अस्पताल प्रशासनले भन्यो, ‘मृतकको छोरा दिल्लीमा छन्, उता पनि लकडाउन भएकाले आउन समस्या भएको छ, छोरो आउनासाथ बेडबाट निकालिन्छ ।’ शनिबार छोरा आएपछि मात्र अस्पताल र सेनाको समन्वयमा शव व्यवस्थापन भयो ।

पल्लो बेडमा अन्तिम सास लिइरहेको बिरामीको मृत्यु भयो, आफन्तहरू पालैपालो आएर रोइरहेका छन् । वल्लोपल्लो बेडमा भएका बिरामी यो सबै हेर्न बाध्य छन् । यसले उनीहरूलाई मनोवैज्ञानिक रूपमा कस्तो प्रभाव पा¥यो ? त्यो त छँदै छ । तर, तीन दिनसम्म आइसियू बेडमा रहँदा सिकिस्त बिरामीले भने बेड पाइरहेका छैनन्, बेडमा पुग्न नपाई उनीहरूको मृत्यु भइरहेको छ । शव उठाउने विषयमा स्पष्ट नीति नबन्दा अन्य धेरै अस्पतालमा शव बेडमा छन्, बिरामी बाहिर छन् ।

भेरी कोरोना विशेष अस्पताल नेपालगन्जमा उपचाररत सल्यान बागचौर नगरपालिका– १२ का ५२ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे ज्यान गयो । चिकित्सक र स्वास्थ्यकर्मीलाई त्यसको जानकारी भए पनि शव व्यवस्थापनका लागि आएनन् । बेलुकी ६ बजेसम्म उनको शव बेडमै थियो ।

आफ्नैअगाडि छेउको बिरामीले ज्यान गुमाएपछि पल्लो बेडमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका– २ खैरापुरका निर्मल बुढाथोकी हतास बने । जिउ फतक्क गलेजस्तो भयो । शरीर ल¥याकलुरुक भयो । सास फुल्यो । उनले पल्लो बेडको शवतर्फ हेर्न नै सकेनन् ।

आफ्नैअगाडिको बिरामीले मृत्युवरण गरेको देखेर छटपटी भयो । आफूलाई पनि त्यस्तै हुने हो कि भनेर मन पोल्यो । त्यता हेर्न नसकेर अन्तै मुख फर्काएर पल्टिएँ,’ बुढाथोकीले भने, ‘बोल्दाबोल्दै सास गएको देखेर मन निकै व्याकुल हुन्छ ।’ उनले आफ्नै आँखाअगाडि धेरै बिरामीले ज्यान गुमाएको देखेका छन् ।

बिरामी आफन्तको कुरुवा बसेका गुलरिया नगरपालिका– २ का दिनेश पौडेलले आइसोलेसन कक्षबाट शव उठाइदिन अस्पताल प्रशासन र स्वास्थ्यकर्मीसँग धेरैपटक आग्रह गरे । तर, कसैले सुनेन । बेलुकी ६ बजेपछि मात्रै शव बाहिर निकालियो । ‘दिनभर शव बेडमै राखिरहँदा अन्य बिरामी र कुरुवालाई ठूलो तनाव हुने गरेको पौडेलले बताए । भन्छन्, ‘हाम्रो बिरामी रहेको बेडनजिकै भएकाले हामीलाई दिनभर तनाव भयो । आफ्नै आँखाअगाडि मरेको बिरामीको शव दिनभर हेरेर बस्नुपर्दा बिरामीलाई झन् कस्तो भयो होला ? तपाईं आफैँ सोच्नुस् ।’

कोरोनाको ‘हट स्पट’ नेपालगन्जमा लामो समयसम्म शव व्यवस्थापन नहुँदा अन्य बिरामी र कुरुवाले मानसिक तनाव झेल्नुपर्ने मात्र होइन, बेडका लागि पालो कुरिरहेका अन्य बिरामी पनि समयमा उपचार पाउनबाट वञ्चित भइरहेका छन् । आइतबार मृत्यु भएका सल्यानका पुरुषको शव समयमा नउठाउँदा दिनभर बेड खाली नभएको कुरुवा पौडेलले बताए । ‘दिनभर शव नउठाउँदा अक्सिजन दिनुपर्ने बिरामी पनि बाहिर बसेर पालो कुरिरहेका थिए । शव उठ्नासाथ बिरामीले ठाउँ पाए । नयाँ बिरामी थपिए,’ उनले भने ।

अस्पतालको आइसियू र भेन्टिलेटरमा मृत्यु भएका बिरामीको शव लामो समयसम्म त्यहीँ राखिने गरेको बर्दियाकी बिरामी कुरुवा सीता थापाले बताइन् । शव छिटो नउठाउँदा अन्य बिरामीले पालो नपाउने गरेको उनको भनाइ छ । ‘मृत्यु भएका बिरामीको शव नउठाउँदा सिकिस्त बिरामीले समेत पालो कुर्नुपर्ने बाध्यता छ । पालो कुर्दाकुर्दै कतिपय बिरामीले ज्यान गुमाउनुपरेको छ,’ उनले भनिन् ।

कोरोना संक्रमितको शव व्यवस्थापन गर्न कठिनाइ हुने भएकाले आफन्तहरू पनि टाढिने गरेका छन् । शव बुझ्न आफन्त नआएकै कारण आइतबार मृत्यु भएका बिरामीको शव रातभर अस्पतालको ग्यालेरीछेउमै नजिकै राखिएका थिए । ‘परिवारका सदस्य बाहिरबाट आउनुपर्ने भएकाले शव रातभर अस्पतालमै राख्ने भएका छौँ,’ मृतकका आफन्त प्रकाश कक्षपतिले भने, ‘यो हाम्रो मात्र होइन, सबैको बाध्यता हो ।’

समयमा शव व्यवस्थापन नहुँदा चिकित्सक र स्टाफ नर्सहरूलाई पनि तनाव हुने गरेको छ । बिरामीको उपचार गरिरहेका वेला शव देखेपछि मस्तिष्क उतै तानिने गरेको अस्पतालको वार्डमा भेटिएकी एक स्टाफ नर्सले बताइन् । ‘हाम्रो मन ढुंगा त होइन । आफैँले उपचार गरिरहेको बिरामी मरेपछि हामीलाई पनि नमज्जा लाग्छ । मन रुन्छ । एउटै शव लामो समयसम्म देख्दा झनै निराशा पैदा हुन्छ,’ ती स्टाफ नर्सले भनिन् ।

कोरोना जित्न बिरामीको आत्मबल दरिलो हुनुपर्ने बताउँदै ती नर्सले परिवार र उपचारमा संलग्न चिकित्सकको हौसला पनि महत्वपूर्ण भएको बताइन् । ‘शव देखेपछि बिरामीको आत्मबल घट्न गई रोगसँग लड्ने शक्ति कमजोर हुने गर्छ । बिरामीको मनोबल बढाउन शव व्यवस्थापनमा अस्पताल प्रशासनले ध्यान पु¥याउनुपर्छ,’ उनले भनिन् ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा प्रकाशबहादुर थापाले भने मृत्यु भएको प्रमाणित गर्न र शव व्यवस्थापनका लागि सेना र परिवारका सदस्यलाई बुझाउन समय लाग्ने गरेको बताए । कहिलेकाहीँ परिवारका सदस्य समयमा नआउँदा पनि व्यवस्थापनमा ढिलाइ हुने गरेको उनको भनाइ छ । ‘जतिसक्दो छिटो शव व्यवस्थापन गर्न अस्पताल तत्पर हुन्छ, तर कोरोनाका बिरामीका आफन्त समयमा नआउने र सेनाको शव व्यवस्थापन टोलीले नभ्याउने गरेका कारण केही ढिला हुने गरेको छ,’ डा थापाले भने । याे समाचार नयाँ पत्रिका दैनिकमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *