USAID

आगलागीबाट उद्योगमा १५ करोड रुपैयाँ बराबरको क्षति


झापा । झापाको मेचीनगर नगरपालिका–१५ निलकोठीस्थित बायोग्यास कोइला कारखानामा भएको आगलागीबाट १५ करोडको क्षति भएको प्रहरीले जनाएको छ ।

ज्यामिरगढी प्रहरी चौकीबाट ४ किलोमिटर दक्षिण गाउँमा रहेको सो उद्योगले इन्धनमा प्रयोग हुने ब्रिकेट कोइला उत्पादन गर्दै आएको थियो । जिल्ला प्रहरी कार्यालय झापाले उद्योग सञ्चालकलाई उद्धृत गर्दै आगलागीबाट १५ करोडको क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । उद्योगी आदित्य पराजुलीले अकल्पनीय क्षति पुगेको बताए ।

सोमबार बिहान ३ बजेतिर कारखानामा आगोको लप्को देखिएपछि प्रहरी र दमकललाई खबर गरिएको थियो । अनियन्त्रित भएर फैलिएको आगो अपराह्न २ः३० बजे (११ घण्टा) सम्म पनि निभाउन सकिएको छैन ।

नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र सर्वसाधारणको ठूलो सङ्ख्याले आगो नियन्त्रणका लागि सघाइरहेका छन् । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार भद्रपुर, मेचीनगर, विर्तामोड, दमक, पथरी र उर्लाबारीबाट आइपुगेका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् । तैपनि कारखानाभित्र आगो दन्किरहेको देखिन्छ ।

कारखानामा काठ दाउराको ठूलो थुप्रो रहेको हुँदा आगो निभ्न मुस्किल परिरहेको अग्नी नियन्त्रणमा खटिएकाहरु बताउँछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *