बेलको ह्याट्रिकमा टोटेन्हामको सहज जित

प्रज्जवल थापा । वेल्स स्ट्राइकर गेरेथ बेलको ह्याट्रिकको सहयोगमा टोटेन्हामले इङ्लिस प्रिमियर लिगमा सहज जित निकालेको छ । गएराति भएको खेलमा टोटेन्हामले सेफिल्ड युनाइटेडलाई ४-० गोलले पराजित गरेको हो ।

घरेलु मैदानमा हट्सपर रंगशालामा भएको खेलमा टोटेन्हामलाई जित दिलाउन गेरेथ बेलले ह्याट्रिक पूरा गर्दा ह्युङ मीन सनले एक गोल गरे । पहिलो हाफको ३६ औं मिनेटमा अरिअरको पासमा बेलले गोल गर्दै टोटेन्हामलाई शुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेको टोटेन्हामले दोस्रो हाफमा थप तीन गोल गर्यो ।

६१ औं मिनेटमा सनको पासमा बेलले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर बनाए । ६९ औं मिनेटमा अरिअरको पासमा बेलले गोल गर्दै व्यक्तिगत ह्याट्रिक पूरा गरे । ७७ औं मिनेटमा बेर्गविज्नको पासमा सनले गोल गर्दै टोटेन्हामलाई ४-० गोलको सहज जित दिलाए ।

जितसँगै टोटेन्हाम ३४ खेलबाट ५६ अङ्क जोड्दै लिगको पाँचौ स्थानमा उक्लिएको छ । पराजित सेफिल्ड समान खेलबाट १७ अङ्क जोड्दै लिगको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *