प्रज्जवल थापा । नेपाल सुपर लिग(एनएसएल) मा पोखरा थन्डर्सले पहिलो जित दर्ता गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दिनको दोस्रो खेलमा पोखराले विराटनगर सिटी एफसीलाई १-० गोलले पराजित गरेको हो ।
पोखरालाई जित दिलाउन नवयुग श्रेष्ठले निर्णायक गोल गरे । दोस्रो हाफको ८३ औं मिनेटमा मौसा अब्बाको फ्रिकिक बललाई नवयुगले हेडिङ गर्दै पोस्टको दिशा दिएका थिए । नवयुग पोखराका मार्की प्लेयरपनि हुन् । बाँकी समयमा दुवै टोलीबाट थप गोल नहुँदा पोखराले लिगमा पहिलो जित निकाल्यो ।
जितसँगै पोखरा २ खेलबाट ३ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लिएको छ । पराजित विराटनगर २ खेलबाट ३ अङ्क जोड्दै दोस्रो स्थानमा झरेको छ । ‘इमर्जिङ प्लेयर अफ दि म्याच’ चुनिएका पोखराका नितिन थापाले १० हजार रुपैयाँ पाए । यस्तै पोखराकै नवयुग श्रेष्ठ ‘प्लेयर अफ दि म्याच’ चुनिए । उनले २५ हजार रुपैयाँ प्राप्त गरे ।
आजै भएको दिनको पहिलो खेलमा एफसी चितवन र बुटवल लुम्बिनी एफसीले २-२ गोलको बराबरी खेले । बुटवलले २-० गोलले पछि परेको स्थितिमा उत्कृष्ट पुनरागमन बराबरी खेलेको हो ।
तस्बिर:- खेलपाटी
