प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिग अन्तर्गत आज हुने दोस्रो सेमिफाइनलको पहिलो लेगमा पेरिस सेन्ट जर्मन(पिएसजी) र म्यान्चेस्टर सिटी भिड्दैछन् । पार्क डेस प्रिन्सेसमा हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
घरेलु मैदानमा हुने खेल जित्दै पिएसजी दोस्रो लेगमा सहज बनाउन चाहन्छ । क्वाटरफाइनलमा बायर्नलाई पराजित गर्दै सेमिफाइनलको टिकट काटेको पिएसजी आजको खेलमापनि सिटीलाई हराउने लक्ष्य साथ मैदान उत्रिनेछ । पिएसजीले आफ्नो पछिल्लो ३ खेलमा ११ गोल गर्दै सबै खेल जितेको छ ।
तीन दिन अगाडि टोटेन्हामलाई पराजित गर्दै काराबाओ कप जितेको सिटी आजको खेलमा उच्च मनोबलका साथ मैदान उत्रिनेछ । सिटीले क्वाटरफाइनलमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई हराउँदै सेमिफाइनलको बाटो तय गरेको थियो । सिटीले आफ्नो पछिल्लो ५ खेलमा ३ जित र २ हारको नतिजा निकालेको छ ।
दुई टोलीबिच भएको पछिल्लो दुई भेटमा एक खेल सिटीले जितेको थियो भने एक खेल बराबरीमा सकिएको थियो ।
