उपराष्ट्रपति ह्यारिसद्वारा ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल वार्ता, आप्रवासन मुख्य मुद्दा

वासिङ्टन । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले ग्वाटेमालाका राष्ट्रपति अलेजेन्द्रो जियामेटीसँग सोमबार भिडियो कन्फरेन्स मार्फत कुरा गर्दै मध्य अमेरिकी मुलुकहरुलाई अमेरिकाले प्रदान गरिआएको आर्थिक सहायतामा वृद्धि गर्ने बताएकी छन् ।

मध्य अमेरिकी मुलुकहरुका आप्रवासीहरु अमेरिका प्रवेशको क्रम तीब्र गतिमा वृद्धि भएसँगै अमेरिकाले आप्रवासीलाई उनीहरुकै मुलुकमा अवसर सिर्जना गर्नेगरी ती मुलुकलाई आर्थिक सहायतामा वृद्धि गर्न लागेको हो ।

राष्ट्रपति जो बाइडेनले गत महिना उपराष्ट्रपति ह्यारिसलाई मध्य अमेरिकी मुलुकबाट हुने गरेको आप्रवासन समस्याको वास्तविक कारण पहिचान गर्न विशेष जिम्मेवारी तोकेका छन् । त्यही सिलसिलामा उपराष्ट्रपति ह्यारिसले ग्वाटेमालाका राष्ट्रपतिसँग भर्चुअल बैठक गरेकी हुन् । दुबै नेताबीच आप्रवासनका मुख्य कारणहरु पहिल्याउन र दिर्घकालीन समाधान खोज्न सहमति भएको छ ।

उपराष्ट्रपति ह्यारिसले मङ्गलबार ग्वाटेमालामा सक्रिय सामुदायिक संस्थाका प्रमुखहरुसँग भेटघाट गर्नेछिन् भने अर्को महिना मेक्सिकोका राष्ट्रपतिसँग पनि भर्चुअल बैठक गर्नेछिन् । उनले आगामी जुन महिनामा मेक्सिको र ग्वाटेमालाको भ्रमण पनि गर्नेछिन् ।

उपराष्ट्रपति ह्यारिसमाथि आप्रवासनका सन्दर्भमा निकै ठूलो चुनौती आइपरेको छ भने रिपब्लीकन पार्टीले उनीविरुद्ध कठोर टिप्पणी गर्न थालेको छ । रिपब्लीकन पार्टीले राष्ट्रपति र उपराष्ट्रपति दुबै सीमामा पुगेर आप्रवासीका सन्दर्भमा स्थलगत जानकारी नलिएको भन्दै आलोचना गरेको छ ।

सीमा गस्तीले गत मार्च महिनामा सीमा पारको प्रयास गर्ने ठूलो संख्याका बालबच्चालाई नियन्त्रणमा लिएको छ भने आप्रवासीको भीडका कारण ती आप्रवासीलाई पक्राउ गर्ने, राख्ने र कागजी प्रक्रिया मिलाउने सङ्घीय विभागहरुमा तनाव उत्पन्न गराएको छ ।

नयाँ जिम्मेवारी प्राप्त गर्नु भएकी उपराष्ट्रपति ह्यारिसले फोनमा मेक्सिकोका राष्ट्रपति आन्द्रेस मानुएल लोपेज ओब्राडोर र ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँग फोनमा कुराकानी गर्नुका साथै यस क्षेत्रका विज्ञ र सामाजिक अभियन्ताहरुसँग धेरै चरणमा छलफल गरिसकेकी छन् ।

ग्वाटेमालाका राष्ट्रपति जियामेटीसँगको सोमबारको बैठकमा सम्बोधन गर्दै उपराष्ट्रपति ह्यारिसले देश छाड्नु पर्ने मुख्य कारणहरुका बारेमा चर्चा गरेकी थिइन् । समुद्री आँधी, निरन्तरको सुख्खा र कोभिड–१९ महामारीका साथै आर्थिक अवसरको कमी, विषम मौसमी अवस्था तथा सरकारमा व्याप्त भ्रष्टाचार मुख्य कारण हुन सक्ने उपराष्ट्रपति ह्यारिसको भनाइ थियो ।

उपराष्ट्रपति ह्यारिसले भनिन्, “हामी दुबै गम्भीर कारणहरु सम्बोधन गर्न तपाइँसँग मिलेर काम गर्न चाहन्छौं, जसले ग्वाटेमालाका जनतामा आशाको सञ्चार गर्न सकोस् । यही देशमा उनीहरुको भविष्य छ भन्ने अनुभूति गराउनु हामी सबैको कर्तव्य र दायित्व हो ।”

उनले यस क्षेत्रका देशहरुलाई अमेरिकाले सहयोग बढाउने र प्रभावकारी, सुरक्षित र मानवीय ढङ्गले आप्रवासन व्यवस्थापन गर्न अझ राम्रो सहयोग गर्ने वचनबद्धता प्रकट गरिन् ।

उपराष्ट्रपति ह्यारिसका टिप्पणीहरु बाइडेन प्रशासनले ग्वाटेमालाका एक जना वर्तमान र एक जना वरिष्ट पूर्व सरकारी अधिकारीमाथि भ्रष्टाचारको आरोप लगाउँदै प्रतिबन्धहरु घोषणा गरेकै दिन आएको छ । अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केनले एक विज्ञप्ति जारी गर्दै यी प्रतिबन्धहरुले ग्वाटेमालाका जनताले गरेको भ्रष्टाचारको अन्त्य रोक्ने प्रयासलाई सघाउने बताए ।

यद्यपी उपराष्ट्रपति ह्यारिस वा ग्वाटेमालाका राष्ट्रपति जियामेटी दुबैले नयाँ प्रतिबन्धका बारेमा कुनै टिप्पणी गरेनन् ।

ह्यारिससँगको भर्चुअल बैठकमा राष्ट्रपति जियामेटीले आफ्नो सरकारले गरिबी समेत देशभित्र उत्पन्न विषम अवस्थालाई सम्बोधन गर्न अमेरिकासँग सहकार्य गर्न तत्पर र इच्छुक रहेको बताएका छन् । राष्ट्रपति जियामेटीले अहिले र आगामी जुनमा हुने प्रत्यक्ष भेटवार्तामा दुबै मुलुकले ग्वाटेमालामा शान्ति, समृद्धि र विकासलाई सुनिश्चित गर्न एक मार्गचित्र निर्माण गर्ने विश्वास व्यक्त गरे ।

रिपब्लीकन पार्टीले ह्यारिसका कदमप्रति तिखो आलोचना गरे पनि आप्रवासी मामिलाका विज्ञहरु र अभियन्ताहरुले ह्यारिसका प्रयासलाई मूल्याँकन गरिहाल्ने समय नभएको प्रतिक्रिया दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *