USAID

इराकमा कोभिड अस्पतालमा आगलागी हुँदा कम्तीमा २३ जनाको मृत्यु


इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा आगलगाी हुँदा कम्तीमा २३ जनाको ज्यान गएको छ । शनिवार राति खतिब अस्पतालमा शुरू भएको आगलागीमा परेर दर्जनौँ घाइते भएका छन् । रिपोर्टहरूमा जनाइएअनुसार अक्सिजन ट्याङ्की विस्फोट हुँदा आगलागी शुरू भएको हो ।

सामाजिक सञ्जालमा राखिएका भिडियोहरूमा अग्नि नियन्त्रकहरू आगो निभाइरहेका र मानिसहरू अस्पताल छोडेर भागिरहेका देखिन्छन् । इराकका प्रधानमन्त्री मुस्तफा अल–कादिमिले दुर्घटनाको कारण खोल्न तत्काल अनुसन्धान गर्ने बताएका छन् ।

इराकका नागरिक सुरक्षा निकायका प्रमुख मेजर जनरल कादिम बोहानले राज्य सञ्चालित सञ्चारमाध्यमलाई बताएअनुसार अस्पतालको आईसीयू इकाईबाट आगलागी शुरू भएको थियो ।

अहिलेसम्म आपत्कालीन उद्धार समूहले १२० मध्ये ९० जना बिरामी र उनका नातेदारलाई उद्धार गरेका छन् । अस्पताल स्रोतले बताएअनुसार कोभिड–१९का गम्भीर बिरामीहरूको उपचार गर्न छुट्ट्याइएको कक्षमा ३० जना बिरामी आईसीयूमा थिए ।

घाइते र बिरामीहरूलाई एम्बुलेन्सबाट नजिकका अरू अस्पतालमा पुर्याइएको छ । इराकको नागरिक सुरक्षा विभागका अनुसार आइतबार सबेरै सम्ममा आगो नियन्त्रणमा आएको छ ।

इराकमा कोरोनाभाइरस फेब्रुअरीयता तीव्र रूपमा बढिरहेको छ र यो हप्ता सम्ममा १० लाखभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको छ । त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार कुल १० लाख २५ हजारभन्दा बढीमा सङ्क्रमण पुष्टि भएको र १५ हजार २१७ जनाको कोभिड–१९ का कारण मृत्यु भएको छ ।

त्यहाँ गत महिनादेखि खोप कार्यक्रम शुरू गरिएको छ र अहिलेसम्म ६ लाख ५० हजार जनालाई खोप दिइएको छ । धेरैजसो खोप विश्वव्यापी खोप सहयोग कार्यक्रम कोभ्याक्समार्फत् आएको छ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *