मेस्सी चम्किदा बार्सिलोनाको शानदार जित

प्रज्जवल थापा । अर्जेन्टिनी सुपरस्टार फर्वार्ड लियोनल मेस्सी चम्केको खेलमा बार्सिलोनाले शानदार जित निकालेको छ । स्पेनिस लिग ला लिगाअन्तर्गत गएराति भएको खेलमा बार्सिलोनाले गेटाफेमाथि ५-२ गोलको शानदार जित निकालेको हो ।

घरेलु मैदान क्याम्प नोउमा भएको खेलमा बार्सिलोनालाई जित दिलाउन लियोनल मेस्सीले दुई, रोनाल्ड अरौजो र एन्टोनी ग्रिजमनले १/१ गोल गरे । बार्सिलोनाले एक गोल भने उपहार पाएको हो । गेटाफेको लागि एनिस उनालले एक गोल गर्दा एक गोल उपहार पायो । पहिलो हाफको पाँचौ मिनेटमै बुस्केटको पासमा मेस्सीले गोल गर्दै बार्सिलोनालाई शुरुवाती अग्रता दिलाएका थिए ।

१२ औं मिनेटमा लेनग्लेटले आफ्नै पोस्टमा गोल गरेपछि गेटाफेले खेलमा बराबरी गरेको थियो । २८ औं मिनेटमा विपक्षी खेलाडी सोफिन चाक्लाले आत्मघाती गोल गरेपछि बार्सिलोनाले खेलमा फेरि अग्रता लियो । ३३ औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो गोल गर्दै घरेलु टोलीलाई पहिलो हाफमा ३-१ गोलको अग्रत दिलाए ।

६९ औं मिनेटमा इनेस उनालले गोल गर्दै गेटाफेलाई ३-२ को अवस्थामा ल्याए । तर ८७ मिनेटमा मेस्सीको पासमा अरौजोले गोल गर्दै बार्सिलोनालाई सहज जिततर्फ अगाडि बढाएका थिए । यस्तै इन्जुरी समयको तेस्रो मिनेटमा ग्रिजमनले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई ५-२ गोलको शानदार जित दिलाए ।

जितसँगै बार्सिलोना ३१ खेलबाट ६८ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । समान खेलबाट ७३ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड शिर्ष स्थानमा र ७० अङ्क जोडेको रियल म्याड्रिड दोस्रो स्थानमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *