पडिक्कलको शतकमा बैंगलोरको लगातार चौँथो जित

प्रज्जवल थापा । युवा ओपनर देवदत्त पडिक्कलले शतक पूरा गरेपछि इन्डियन प्रिमियर लिग (आईपिएल) मा रोयल च्यालेन्जर्स बैंगलोरले शानदार जित निकालेको छ । बिहीबार बेलुकी भएको खेलमा बैंगलोरले राजस्थान रोयल्सलाई १० विकेटले पराजित गर्दै लिगमा लगातार चौँथो जित निकालेको हो ।

जितको लागि १ सय ७८ रनको लक्ष्य पछ्याएको बैंगलोरले १६.३ ओभरमै बिनाविकेटको क्षतिमा १ सय ८१ रन बनाउदै लक्ष्य भेट्टायो । बैंगलोरको लागि दुबै ओपनरले शानदार ब्याटिङ गरे । पडिक्कलले ५२ बलमा १ सय १ रन जोडे । उनले ११ चौका र ६ छक्का प्रहार गरे । यस्तै कप्तान विराट कोहलीले ४७ बलमा ६ चौका र ३ छक्काको मद्दतमा ७२ रन जोडे ।

यसअघि वाङखेडे स्टेडियममा भएको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ७७ रन बनाएको थियो । एक समय १८.३ को अवस्थामा रहेको राजस्थानलाई मध्यक्रमका ब्याट्सम्यानले सम्मानजक स्कोरमा पुर्याएका हुन् । राजस्थानको लागि शिभम डुबेले ३२ बलमा ५ चौका र २ छक्काको मद्दतमा ४६ रन जोडे । यस्तै राहुल टेवाटियाले २३ बलमा ४ चौका र २ छक्काको सहयोगमामा ४० रन जोड्दा रियान परागले २५, कप्तान सन्जु सामसनले २१ र क्रिस मोरिसले १० रनको योगदान गरे ।

बैंगलोरको लागि मोहमद सिराजले ४ ओभरमा २७ रन खर्चेर ३ विकेट लिए । यस्तै हर्सल पटेलले ४ ओभरमा ४७ रन दिएर ३ विकेट लिँदा वासिङटन सुन्दर, केन रिचार्डसन र जेमिसनको नाममा १/१ विकेट रह्यो । जितसँगै बैंगलोर ४ खेलमा सतप्रतिशत जित निकाल्दै ८ अङ्कको साथ शीर्ष स्थानमा रहेको छ । पराजित राजस्थान भने २ अङ्कको साथ तालिकाको पुछारमा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *