भक्तपुरमा पनि मेलम्चीको पानी वितरण

भक्तपुर । भक्तपुरको मध्यपुरथिमि नगरपालिका–९ टिगनीस्थित खानेपानी ट्याङ्कीमार्फत बुधबारदेखि भक्तपुरको मध्यपुरथिमि क्षेत्रमा मेलम्ची खानेपानी वितरण शुरु गरेको छ । केहीदिन भित्रै मध्यपुरथिमि क्षेत्रमा दैनिक ३० लाख लिटर मेलम्चीको खानेपानी वितरण हुने भएको छ ।

भक्तपुर क्षेत्र नम्बर २ का सांसद एवं पूर्वमन्त्री महेश बस्नेत र मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले बुधबार संयुक्तरुपमा उद्घाटन गरी मेलम्चीको पानी स्थानीयवासीलाई वितरण शुरु गरिएको हो ।

सो अवसरमा सांसद बस्नेतले भने, “पहिलो चरणमै भक्तपुरमा मेलम्चीको पानी झार्न हामी सफल भयौँ, यो नेपाल सरकारको प्रभावकारी काम हो, तत्कालका लागि अब दैनिक ३० लाख लिटर पानी यहाँबाट वितरण हुन्छ, अब पानीको समस्या समाधान हुन्छ ।”

उनले मध्यपुरथिमिभित्र पनि लोकन्थली, कौशलटार, गठ्ठाघर, बालकुमारी, चपाचो, नगदेशलगायतका पानीको अभाव भएको ठाउँलाई प्राथमिकतामा राखेर पानी वितरण गर्नुपर्नेमा जोड दिए ।

स्थानीयवासीको समस्या हल गर्दै जानुपर्नेमा जोड दिँदै उनले नीलबाराहीमा थप पानी ट्याङ्की निर्माण गर्नुपर्ने र कर्मचारी नियुक्तिमा स्थानीयवासीलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।

मध्यपुरथिमि नगरपालिकाले यहाँका प्रत्येक गल्लीमा पुरानो पाइपको ठाउँमा नयाँ पाइप जडान गरेको, नगरपालिकाको करिब चार करोड र खानेपानी बोर्डको समेत गरेर छ करोडमा नयाँ पाइप लाइन विस्तार गरेको भन्दै उनले १९ करोडको लागतमा ट्रयाक लाइन विस्तार गरेकाले मध्यपुरथिमिमा मेलम्चीको पानी चुहावट हुने सम्भावना निकै कम रहेको जिकिर गरे ।

उनका अनुसार बोडे टिगनीबाट काठमाडौँ अनामनगर पठाइएको पानी मेलम्ची आएपछि रोकेर लोकन्थलीमा वितरण प्रणाली मिलाइएको छ ।

कार्यक्रममा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कार्यकारी प्रमुख मिलन शाक्यले मेलम्चीको पानी काठमाडौँ झरेपछि ९० प्रतिशत पानी काठमाडौँमा वितरण भए पनि १० प्रतिशत पानी चुहावट भएको बताए ।

पुरानो पाइप लाइनबाट पानी चुहावट हुने र पाइप फुट्ने गरेको उल्लेख गर्दै उनले ३२० ठाउँमा भएको चुहावटमध्ये २०० ठाउँको चुहावट रोकेको बताए । अब ल्याङ्ग्री र लार्केबाट थप पानी ल्याई तीन वर्षपछि काठमाडौँमा दैनिक ३४ करोड लिटर पानी झारेपछि २४ सै घण्टा पानी वितरण गर्न सकिने उनको भनाइ थियो ।

कार्यक्रममा आयोजना कार्यान्वयन निर्देशनालयका कार्यक्रम निर्देशक कमलराज श्रेष्ठले १७ करोड लिटर पानी प्रणालीमा आएपछि भक्तपुरको पुरानो प्रणालीबाट पानी वितरण शुरु हुने बताए ।

मेलम्चीमा नियमित पानी आउने र यहाँ हिउँ पग्लेरसमेत पानी आउने भएकाले अब पानीको समस्या नहुने भन्दै उनले आगामी तीन वर्षपछि नयाँ परियोजना सकिएर व्यवस्थितरूपमा सबै ठाउँमा मेलम्चीको अन्तर्राष्ट्रिय गुणस्तरयुक्त पानी वितरण गर्न सकिने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *