USAID

संविधानको रक्षा गर्दै अगाडि बढ्न खोज्दा घेराबन्दी गरियोः सभामुख सापकोटा


काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाले संविधानको रक्षा गर्दै अगाडि बढ्न खोज्दा घेराबन्दी भएको बताएका छन् । आइतबार नेपाल पत्रकार महासंघको नयाँ कार्यसमितिको पदभार हस्तान्तरण कार्यक्रममा सभामुख सापकोटाले संविधानको रक्षा गर्दा संसदलाई घेरबन्दी भइरहेको बताएका हुन् । संसद र आफूमाथि अनेक टिप्पणी भइरहेको भन्दै सभामुखले आफू जनताको अधिकतम हितमा लाग्ने बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठकमासमेत सभामुखले काम गर्न नदिएको अभिव्यक्ति दिएको भोलिपल्ट सभामुख सापकोटाले संसद सामु ठूलो चुनौती खडा भएको बताएका हुन् ।

उनले भने, ‘संघीय संसद्लाई चलयामान बनाउने, संविधानको रक्षार्थ प्रतिनिधिसभा दृढतापूर्वक अगाडि बढ्न सुरु गर्यो तर त्यहींबाट घेराबन्दी हुन थाल्यो । निकै ठूलो घेराबन्दी भइरहेको छ । अनेकखालका टिप्पणी भइरहेका छन् ।’

सभामुखले प्रतिनिधिसभालाई जीवन्त र जनमुखी बनाउन लागिरहेको अवस्थामा धेरै मान्छेलाई संसद्बारे भ्रममा पारिएको बताए । उनले भने, ‘धेरै मान्छेलाई केही समय भ्रममा पार्न सकिन्छ । केही मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिन्छ । तर सबै मान्छेलाई सधैंभरी भ्रममा पार्न सकिँदैन । यो व्यक्ति–व्यक्ति बीचको, अधिकारीबीचको टक्कर हो कि भनेर टिप्पणी हुन्छ तर यो दृष्टिकोणको बीचमा टक्कर हो ।’

उनले संविधान र लोकतान्त्रिक मूल्य मान्यता स्थापित गर्ने मामिलामा आफू सधैं दृढ भएर लाग्ने बताए । उनले भने, ‘नेपालको संविधानलाई रक्षा र विकास गर्ने कुरामा म दृढ छु । भन्नेले के भन्छन् मैले वास्ता गरेको छैन, म लुरुलुरु अगाडि बढेको छु । मैले जे गरेको छु देशलाई सम्झेर गरेको छु । देश र जनताको अधिकतम हितमा काम गरेको छु ।’ आफूले जानाजान देश र जनताको हितविपरीत काम नगरेको र आगामी दिनमा पनि त्यस्तो नगर्ने उनको भनाइ थियो ।

सभामुखले सभामुख पद तटस्थ रहोस् र तटस्थ निर्णय गरोस् भन्ने चाहना राख्नेभन्दा पनि आफ्नो पक्षमा काम गरोस् भन्नेहरू रहेको बताए । जतिबेरसम्म आफू यो जिम्मेवारी रहन्छु देश र जनताप्रति पूरै इमानदारिताका साथ, निष्ठाका साथ काम गर्ने उनले बताए ।

 

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *