यसरी गरियो राजकुमार फिलिपको अन्तिम संस्कार

महारानी एलिजाबेथ द्वितीयाका पति राजकुमार फिलिपको अन्तिम संस्कार विन्ड्सर कासल परिसरमा रहेको सेन्ट जोर्जेज् च्यापलमा भएको छ । राजकुमार फिलिपको शवलाई त्यहाँस्थित रोयल भल्टमा समाधिस्थ गरिएको छ ।

कोरोनाभाइरस नियन्त्रणका लागि कार्यान्वयन गरिएका नियमका कारण राजकुमार फिलिपको अन्तिम संस्कारमा सीमित व्यक्तिहरू मात्र सहभागी भएका थिए । अन्तिम संस्कारको विधि गरिएको बेला सेन्ट जोर्जेज् च्यापलको क्वाईरको अग्रभागमा महारानी एलिजाबेथ एक्लै बसेकी थिइन् ।

उक्त समारोहमा डीन अफ विन्ड्सरले महारानीप्रति ड्यूक अफ एडिन्बराको ’अखण्ड निष्ठा’, राष्ट्रप्रतिको सेवा र ’साहस’प्रति सम्मान व्यक्त गरेका थिए । राजकुमार फिलिपको गत शुक्रवार अप्रिल ९ का दिन ९९ वर्षको उमेरमा विन्ड्सर कासलमा निधन भएको थियो । उनको शव प्राइभेट च्यापलबाट सेन्ट जोर्जेज् च्यापलसम्म लगिँदा राजपरिवारका प्रमुख सदस्यहरू शवपेटिका राखिएको ल्यान्ड रोभर कारको पछिपछि हिँडेका थिए ।

शवयात्रामा सहभागी नहुने राजपरिवारका सदस्यहरू विन्ड्सर कासलदेखि कार चढेर च्यापलसम्म पुगेका थिए । अन्तिम संस्कारका क्रममा वेलायतभरि एक मिनेट मौनधारण गरिएको थियो । त्यसअघि राष्ट्रिय गान बजिरहँदा महारानीको कार सेन्ट जोर्जेज् च्यापल पुगेको थियो । राजकुमार फिलिपको निधन घोषणा भएयता महारानी एलिजाबेथ द्वितीया पहिलो पटक सार्वजनिक रूपमा देखा परेकी हुन् ।

अन्तिम संस्कारका क्रममा डीन अफ विन्ड्सरले ड्यूक अफ एडिन्बराको दीर्घ जीवन एउटा वरदान भएको बताए । राजकुमार फिलिपलाई सम्मान व्यक्त गर्ने क्रममा डीनले उनको करुणा, हास्यभाव र मानवता को स्मरण गरेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *