आगामी बजेटमा आइसिटी क्षेत्रलाई प्राथमिकता : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेटमा सू्चना तथा सञ्चार प्रविधिलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

नेपाल आर्थिक पत्रकार समाज (सेजन) र नेपाल दूरसञ्चार प्राधिकरणद्वारा शनिबार आयोजित ‘कूल ग्राहस्थ उत्पादनमा टेलिकम क्षेत्रको भूमिका’ विषयक अन्तक्र्रियामा उनले सूचना, सञ्चार र प्रविधिका कारण अन्य क्षेत्रमा समेत विकास हुने भएकाले सो क्षेत्रमा लगानी बढाउनुपर्ने बताए ।

अर्थमन्त्री पौडेलले भने, “हरेक क्षेत्रमा सञ्चार क्षेत्रको महत्व बढेर गएको छ, शिक्षा, स्वास्थ्यलगायत देशको आर्थिक विकासमा यसको उत्तिकै महत्व छ, तर देशको आर्थिक वृद्धिमा टेलिकम क्षेत्रको भूमिका र यसले पुर्याएको योगदानबारे तथ्यका लागि अध्ययन गर्नुपर्ने छ ।”

आजको दुनियाँमा आइसिटीको क्षेत्र फराकिलो भइरहेको सन्दर्भमा सरकार ‘डिजिटल नेपाल’ फ्रेमवर्कअनुसार नै अगाडि बढिरहेको उनको भनाइ छ । उनले सरकारले मानव जीवन सुरक्षाका निम्ति महामारीका रूपमा रहेको कोरोना भाइरसविरुद्ध तीव्ररूपमा काम गरिहेको पनि बताए ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा पुष्पराज कँडेलले आइसिटी समग्र विकाससँग जोडिने भएकाले पनि सो क्षेत्रलाई उद्योगका रूपमा विकास गर्नुपर्नेमा जोड दिए ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले डिजिटल नेपालको आकांक्षा पूरा गर्ने गरी प्राधिकरण प्रत्येक नागरिकसम्म इन्टरनेट पहुँच पुर्याउन तीव्रगतिमा काम गरिरहेको जानकारी दिए ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम खनालले ग्रामीण क्षेत्रमा देखिएको नेटवर्कलगायत टेलिकमसँग जोडिएका विविध समस्यालाई जतिसक्दो चाँडो समाधान गर्ने बताए । सेजनका अध्यक्ष भीम गौतमले आइसिटी क्षेत्र देशको आर्थिकसँग जोडिएको हुँदा त्यस क्षेत्रको विकासमा सरकारले प्राथमिकता दिनुपर्ने माग गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *