प्रज्जवल थापा । इङ्लिस क्लब म्यान्चेस्टर युनाइटेड युईएफए युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा युनाइटेडले ग्रानाडालाई २-० ले तथा समाग्रमा ४-० गोलले पराजित गर्दै सेमिफाइनल पुगेको हो ।
दुई टोलीबिचको पहिलो लेगमा युनाइटेडले २-० गोलले नतिजा आफ्नो पक्षमा पारेको थियो । बिहीबार राति भएको खेलमा युनाइटेडलाई जित दिलाउन एडिन्सन काभानीले एक गोल गर्दा एक गोल उपहार पाएको थियो । पहिलो हाफको छैटौं मिनेटमा पोग्वाको पासमा काभानीले गोल गर्दै युनाइटेडलाई खेलमा अगाडि बढाएका थिए । ९० औं मिनेटमा जेसस भेल्लेजोले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि युनाइटेड खेलमा २-० गोलले विजयी भएको थियो ।
अब युनाइटेडले फाइनल प्रवेशको लागि इटालियन टोली रोमाको सामना गर्नेछ । बिहीबार रातिनै भएको क्वाटरफाइनलको दोस्रो लेगमा रोमाले आयाक्ससँग १-१ गोलको बराबरी खेले पनि समाग्रमा ३-२ गोलले पराजित गर्दै सेमिफाइनलमा आफ्नो स्थान पक्का गरेको हो ।
