च्याम्पियन्स लिगमा पिएसजी र बायर्न म्युनिख भिड्दै

प्रज्जवल थापा । युईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल अन्तर्गत आज हुने दोस्रो लेगमा पेरिस सेन्ट जर्मन(पिएसजी) र बायर्न म्युनिख भिड्दै छन् । खेल नेपाली समय अनुसार राति १२ः४५ बजे शुरु हुनेछ ।

आज हुने खेलमा दुवै टोली सकारात्मक नतिजा निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । गत हप्ता भएको क्वाटरफाइनलको पहिलो लेगमा बायर्न म्युनिख घरेलु मैदानमा ३-२ गोलले पराजित भएको थियो । त्यसैले बायर्नलाई सेमिफाइनल प्रवेशको लागि कम्तिमा २-० गोलको जित आवश्यक रहेको छ ।

यता पिएसजी भने आजको खेलमा बराबरी अथवा १-० गोलको हारले पनि अवे गोलको आधारमा सेमिफाइनल प्रवेश गर्नेछ । गत सिजनको फाइनलमा बायर्नले पिएसजीलाई १-० गोलले पराजित गर्दै छैटौं पटक च्याम्पियन्स लिगको उपाधि जितेको थियो । आजको खेलमा पनि बायर्न आफ्नो प्रमुख खेलाडी रोबर्ट लेवान्डोस्कीबिना मैदान उत्रिनेछ । उनी अन्तराष्ट्रिय ब्रेकमा घाइते भएका थिए ।

दुई टोलीबीच भएको पछिल्लो ५ भेटमा ३ खेल बायर्नले जितेको छ भने २ खेल पिएसजीले आफ्नो पोल्टामा पारेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *