प्रज्जवल थापा । बहुप्रतिष्ठित ‘एल क्लासिको’ मा आज विश्व फूटबलका दुई महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना भिड्दैछन् । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेल नेपाली समय अनुसार राति १२:४५ बजे शुरु हुनेछ ।
आज हुने खेलमा दुवै टोली जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछन् । घरेलु मैदान अल्फ्रेडो डि स्टेफेनोमा हुने खेल जितेको खण्डमा म्याड्रिडलाई शिर्ष स्थानमा उक्लिने अवसर रहेको छ । हाल म्याड्रिड २९ खेलमा ६३ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा छ । समान खेलबाट ६५ अङ्क जोडेको बार्सिलोना दोस्रो र ६६ अङ्क जोडेको एथ्लेटिको म्याड्रिड शिर्ष स्थानमा रहेको छ ।

म्याड्रिडले आफ्नो पछिल्लो ५ खेलमा सतप्रतिशत जित निकालेको छ । गत मंगलबार च्याम्पियन्स लिग अन्तर्गत भएको क्वाटरफाइनलको पहिलो लेगमा म्याड्रिडले लिभरपुललाई ३-१ गोल अन्तरले पराजित गरेको थियो । आजको खेलमापनि म्याड्रिड आफ्नो प्रमुख ४ खेलाडी सेर्जियो रोमस, इडेन हजार्ड, राफेल भरान र डानी कार्भाहाल बिना मैदान उत्रिनेछ । रियल म्याड्रिड बार्सिलोनाविरुद्ध पछिल्लो ३ खेल(२ जित,१बराबर) मा अपराजित रहेको छ ।
यता बार्सिलोनापनि आजको खेल जित्दै शिर्ष स्थानमा उक्लिन चाहन्छ । चाहन्छ । हाल बार्सिलोना २९ खेलमा ६५ अङ्क जोड्दै लिगको दोस्रो स्थानमा रहेको छ । समान खेलबाट ६६ अङ्क जोडेको एथ्लेटिको शिर्ष स्थानमा छ । चोटको कारण मैदान बाहिर रहेका जेरार्ड पिके टोलीमा फर्किएका छन् ।

बार्सिलोना घरेलु लिगको पछिल्लो १९ खेलमा अपराजित रहेको छ । गत सोमबार भएको खेलमा बार्सिलोनाले डेम्बेलेको गोलको सहयोगमा रियल भाल्लाडोलिडलाई १-० गोलले पराजित गरेको थियो ।
दुई टोलीबिच भएको २ सय ४५ खेल मध्य ९७ खेल रियल म्याड्रिडले जितेको छ भने ९६ खेल बार्सिलोनाले आफ्नो पोल्टामा पारेको थियो । २ सय ४५ खेलमा रियल म्याड्रिडले ४ सय ८ गोल गर्दा बार्सिलोनाले ४ सय गोल गरेको छ ।
