बेलायतस्थित म्यानमारका राजदूतलाई दूतावास प्रवेशमा रोक

बेलायतका लागि म्यानमारका राजदूत क्यए वार मिनलाई बुधबार आफ्नै राजदूतावासभित्र प्रवेश रोक लगाइएको छ । फेब्रुअरी १ मा म्यानमारमा भएको सैनिक कूको विरोध गरेका र प्रजातन्त्रवादी नेता आङ सान सुकीलगायतको रिहाइ माग गरेका राजदूत मिनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूलाई दूतावासका सैनिक सहचारीको नेतृत्वमा आफूलाई दूतावासबाहिरै राखिएको बताएका छन् ।

उनले यसलाई पनि सैनिक कूको निरन्तरता भनेका छन् । दूतावासका अरू कर्मचारीहरू भित्रै रहेका बेला आफूलाई घन्टौंसम्म पनि प्रवेश नदिइएको उनले बताए। सैनिक सहचारीले दूतावासलाई नियन्त्रणमा लिएको बीबीसीले उल्लेख गरेको छ । बुधबार राजदूत मिनको समर्थनमा केही मानिसहरूले दूतावासअगाडि प्रदर्शनसमेत गरेका थिए ।

बेलायतको विदेश मन्त्रालयले म्यानमारी दूतावासमा भइरहेको घटनाबारे विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका लागि म्यानमारमा राजदूतले पनि सेनाले गरेको कूको विरोध गरेका थिए ।

गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको दाबी गर्दै म्यानमारको सेनाले फेब्रुअरी १ मा कू मार्फत् सत्ता हत्याएको थियो । त्यसपछि प्रजातन्त्र पुनर्वहालीका लागि भएका प्रदर्शनमा सेनाले क्रुर दमन गरिरहेको छ । सैनिक दमनमा परी ६ सय भन्दा बढी प्रदर्शनकारीको मृत्यु भइसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *