काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौंमा ल्याइएको मेलम्ची खानेपानी आयोजनाको पानी वितरण कार्यको उद्घाटन गरेकी छन् । काठमाडौंको भृकुटीमण्डपमा निर्माण गरिएको धारा खोलेर राष्ट्रपति भण्डारीले शुक्रबार आयोजनाको औपचारिक रूपमा उद्घाटन गरेकी हुन् । भृकुटीमण्डपमा मेलम्चीबाट आएको पानी २४ सैं घण्टा वितरण हुने गरी धारा बनाइएको हो ।
सार्वजनिक उपभोगका लागि यहाँ सधैं पानी छाडिने बताइएको छ । सिन्धुपाल्चोकको मेलम्चीबाट चैत १५ गतेदेखि काठमाडौंमा वितरण सुरु गरिएको छ ।
पहिलो चरणमा पुरानो महाङ्काल, मीनभवन, अनामनगर र खुमलटार क्षेत्रमा पानी वितरण सुरु गरिएको थियो । एउटा प्रशोधन केन्द्र मात्रै परीक्षण भएकाले त्यसको क्षमताअनुसार पहिलो चरणमा साढे आठ करोड लिटरसम्म पानी आउनेछ । अर्को प्रशोधन केन्द्रको परीक्षण गरेपछि थप साढे आठ करोड लिटर पनि ल्याउन सकिने बताइएको छ ।
दुवै प्रशोधन केन्द्रमा दैनिक साढे आठ/साढे आठ करोड लिटर गरेर क्षमताअनुसार दैनिक १७ करोड लिटर पानी उपत्यकामा वितरण गर्न सकिनेछ । मेलम्ची खानेपानी आयोजनाले गत महिना पानी परीक्षणका लागि सुरुङमा पठाएको थियो ।
यो पनि
चार पटक मेलम्ची उद्घाटन, तीन पटक खोप हस्तान्तरण !

