प्रज्जवल थापा । फिफा विश्वकप-२०२२ को युरोपेली छनोट अन्तर्गत भएको खेलमा नेदरल्याण्डले फराकिलो जित निकालेको छ । गएराति भएको खेलमा नेदरल्याण्डले गिब्राल्टालाई ७-० गोल अन्तरले पराजित गरेको हो ।
भिक्टोरिया स्टेडियममा भएको खेलमा नेदरल्याण्डलाई जित दिलाउन मेम्फिस डिपेले दुई गोल गर्दा स्टेभेन बेर्घुस, लुक डियोङ, जोर्जिन्हो विजनाल्डम, डोनयल मालेन र डोनी भान डेभिकले एक/एक गोल गरे । पहिलो हाफमा एक गोल गरेको नेदरल्याण्डले दोस्रो हाफमा ६ गोल गरेको थियो । खेलको ४२ औं मिनेटमा विजनाल्डमको पासमा बेर्घुससले गोल गर्दै नेदरल्याण्डलाई खेलमा अगाडि बढाएका थिए ।
५५ औं मिनेटमा बेर्घुसको पासमा लुक डियोङले गोल गर्दै नेदरल्याण्डको अग्रता दोब्बर बनाए । ६१ औं मिनेटमा डिपेले गोल गर्दै नेदरल्याणलाई ३-० गोलको अग्रता दिलाए । ६२ औं मिनेटमा विजनाल्डमले गोल गरेपछि नेदरल्याण्ड फराकिलो जिततर्फ अगाडि बढेको थियो । खेलको ६४ औं मिनेटमा मलानले गोल गर्दै पाहुना टोलीलाई ५-० गोलले अगाडि बढाए ।
८५ औं मिनेटमा नेदरल्याण्डका भान डेभिकले गोल गरे । ८८ औं मिनेटमा डिपेले व्यक्तिगत दोस्रो गोल गर्दै नेदरल्याण्डलाई ७-० गोलको फराकिलो जित दिलाए । जितसँगै नेदरल्याण्ड ३ खेलमा ६ अङ्क जोड्दै समुहको दोस्रो स्थानमा छ । समान खेलबाट ७ अङ्क जोडेको टर्की शिर्ष स्थानमा रहेको छ ।
