स्याफ्रुबेँसी–हाकु सडकमा सावधानीपूर्वक यात्रा गर्न प्रशासनको आग्रह

रसुवा । ब्रावलभीर पाखामा डढेलो लागी ढुङ्गा झर्ने सम्भावना बढेकाले रसुवाको स्याफ्रुबेँसी–हाकु अन्तर्राष्ट्रिय राजमार्गमा हिंड्ने व्यक्तिलाई पूर्वसावधानी अपनाउन आग्रह गरिएको छ ।

बिहीबार बिहान लाङ्टाङ राष्ट्रिय निकुञ्जमा लागेको डढेलोले जङ्गलका बुट्यान नोक्सान गरेको र ढुङ्गा झर्न सक्ने सम्भावनालाई ध्यानमा राखी त्रिशूली किनारमा रहेको राजमार्गमा सकभर पैदलयात्रा नगर्न भनिएको छ ।

यदि यात्रा गर्नैपर्ने अवस्था आए होस् पुर्याई हिंडडुल गर्न सबैमा अनुरोध गरिएको प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद ढकालले बताए । डढेलो प्रभावित क्षेत्र ठाडो पाखाबाट हावाहुरी वा वर्षात्का समयमा झर्न सक्ने ससाना ढुङ्गा खसी नोक्सान पुग्न सक्ने सम्भावना बढेकाले सडक मार्गमा हिँड्दा होशियार हुन जरूरी रहेको जिल्ला विपद् व्यवस्थापन समितिले विश्लेषण गरेको छ ।

गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित धुञ्चे गाउँको तटीय क्षेत्रमा अचानक लागेको डढेलो करीब ९० प्रतिशत नियन्त्रणमा आएको छ । लडेका रूख बलिरहेको र अन्य स्थानको आगो प्रायः नियन्त्रणमा आइसकेको लाङ्टाङ राष्ट्रिय निकुञ्जले जनाएको छ ।

डढेलो नियन्त्रणका लागि निकुञ्जमा सुरक्षार्थ तैनाथ नेपाली सेना विष्णुदल गण, सशस्त्र प्रहरी बल, नेपाल प्रहरीलगायत सुरक्षा अङ्ग, निकुञ्जका कर्मचारी एवं स्थानीय बासिन्दा अहोरात्र खटेको निकुञ्जका वन प्राविधिक रमेश बस्नेतले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *