स्पष्टीकरण सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन्

काठमाडौं । नेकपा एमालेको केपी ओली पक्षले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेतालाई स्पष्टीकरण सोध्दै सोमबार पत्र पठाएपछि नेपाल पक्ष आक्रोसित भएको छ ।

स्पष्टीकरण सोध्नेहरु स्वयं लाखौं प्रश्नको घेरामा रहेकाले चार नेतालाई स्पष्टीकरण सोध्नु हास्यास्पद भएको नेपाल पक्षका नेताहरुले बताएका छन् ।

चार नेतालाई स्पष्टीकरण पत्र पठाएपछि नेपाल पक्षका नेता योगेश भट्टराईले ट्वीट गरेका छन्, ‘सोध्नेहरु स्वयं लाखौ प्रश्नको घेरामा छन् !’

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार चार नेतालाई सोमबार स्पष्टीकरण सोध्दै पत्र पठाएको हो ।

शनिबारको केन्द्रीय कमिटी बैठकले पार्टीको विधान र हितविपरीत गतिविधि गरेको भन्दै वरिष्ठ नेता नेपाल, उपाध्यक्ष डा.भीम रावल, उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार पार्टी महासचिव ईश्वर पोखरेलले हस्ताक्षर गरेको पत्र नेताहरुलाई पठाइएको हो । पत्रमा तीन दिनभित्र चित्तबुझ्दो जवाफ दिन भनिएको छ । चित्तबुझ्दो स्पष्टीकरण नदिए पार्टी विधानअनुसार थप कारबाही गरिने निर्णय पनि बैठकले गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *