USAID

ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन


तनहुँ । तनहुँको व्यास नगरपालिका–११ स्थित ऐतिहासिकस्थल तनहुँसुरमा सामुदायिक घरवास सञ्चालन गरिएको छ । ऐतिहासिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक एवं प्राकृतिक सम्पदा तथा जैविक विविधताको संरक्षण गर्दै तनहुँसुर भ्रमण गर्न आउने आन्तरिक एवं बाह्य पर्यटकका लागि खाना तथा आवासको सहज व्यवस्थापन गर्न घरवास सञ्चालन गरिएको हो ।

पाल्पालीथोक, पत्यारथोक र गङ्गलीथोकका बासिन्दा मिलेर तनहुँसुर देवस्थल सामुदायिक घरवास सञ्चालन गरिएको अध्यक्ष पदमबहादुर थापाले जानकारी दिए । पछिल्लो समय तनहुँसुरमा आन्तरिक पर्यटकको चहलपहल हुन थालेपछि घरवास सञ्चालन थालिएको उनले बताए ।

कूल ३० घरधुरी रहेको यस ठाउँका १४ घरधुरीमा घरवास सञ्चालन गरिएको छ । उक्त घरवासमा ४० बास बस्न सक्नेछन् । मगर, नेवार र दलितको बसोबास रहेको यहाँका घरवासमा आउने पर्यटकलाई मकै, कोदो, फापर, मास, बोडी, भट्टलगायतका परिकार खुवाइने घरवास सञ्चालक समितिका उपाध्यक्ष मदन आलेले जानकारी दिए ।

घरवासको शुक्रबार गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले शुभारम्भ गर्दै ग्रामीण पर्यटनबाट समृद्धि सम्भव भएको बताए । उनले संस्कृतिलाई आयआर्जनसँग जोड्नुपर्ने बताए ।

व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले ग्रामीण पर्यटन प्रवद्र्धनका लागि घरवासको भूमिका महत्वपूर्ण हुने जनाउँदै ऐतिहासिक एवं शहीद गाउँ तनहुँसुरको प्रवद्र्धनका लागि नगरपालिका जुटिरहेको बताए ।

तनहुँसुर सेन वंशीय राजाले राज्य सञ्चालन गरेको ठाउँ हो । यहाँ रहेको ऐतिहासिक खड्गदेवी मन्दिरको केही दिन अगाडिबाट पुनःनिर्माण शुरु भएको छ । पुरातत्व विभागको ७० लाख रुपैयाँको लागतमा खड्गदेवी मन्दिरको पुनःनिर्माण शुरुवात गरिएको हो ।

तनहुँ जिल्लाको नाम तनहुँसुरबाट अपभ्रंस भएर रहेको भन्ने किम्वदन्ती छ । पाल्पाका राजा मणिमुकुन्द सेनले आफ्ना जेठा छोरा भृङ्गीसेनलाई सन् १६१० मा तनहुँमा राज्य सञ्चालन गर्न पठाएको र उनी पछिका आठ सेनवंशी राजाले २३० वर्ष तनहुँसुरबाट राज्य सञ्चालन गरेको इतिहास रहेको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढी, धारा, तोप तथा अन्य हातहतियार, बारुदीखाना, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दीचौतारा, साउने कुवा, कुँडापानी, बाइससिढी चौतारी, ढुङ्गेसाँगु, फूलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानीबगैचा, भगवतीपानी मन्दिर यहाँका पर्यटकीय सम्पदा हुन् ।

विसं २०२५ सम्म भरिभराउ रहेको तनहुँसुर अहिले भने उजाडजस्तै बनेको छ । यहाँका नेवार समुदायको हटिया रित्तिएको छ । विकास र व्यापारको खोजीमा तनहुँसुरका नेवार समुदाय दमौली, चितवन, पोखरा, काठमाडौँलगायतका ठाउँमा बसाई सरेर गएका छन् । तनहुँसुरबाट हिमशृङ्खला, महाभारत पर्वत शृङ्खला, कलेस्तीफाट, चुँदीफाट, गोरखा तथा कास्की जिल्लाका विभिन्न स्थान अवलोकन गर्न सकिन्छ ।

तनहुँसुरसम्म पुग्ने खड्गदेवी मोटरमार्गको छ किलोमिटर खण्ड कालोपत्रेको तयारी थालिएको छ । सङ्घीय सरकारको पाँच करोड र व्यास नगरपालिकाको पाँच करोड गरी दश करोड लागतमा सडक कालोपत्रेको तयारी भइरहेको छ । सन् १६७५ तिरका पाल्पाका शक्तिशाली राजा मुकुन्दसेनले तनहुँसुरलाई आफ्नो राज्यमा मिलाएका थिए ।

तनहुँसुरको बारेमा प्रकाशित पुस्तक ‘मोतीको माला’ मा उल्लेख भएबमोजिम राजा मुकुन्दसेनको मृत्यु परोणान्त तनहुँ प्रदेशका प्रशासक छोरा भृङ्गीसेनले तनहुँलाई स्वतन्त्र राज्य घोषणा गरेका थिए । भृङ्गीसेनका छोरा हम्बिर सेन र धर्माङ्गद सेनबीच तनहुँ राज्यको उत्तराधिकारी हो हुने भन्ने विषयमा विवाद चलेको बताइन्छ ।

उक्त विवादमा दलभञ्ज्याङका रणभन्जन थापाले सहयोग गरेकाले राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजगद्दीबाट हटाएका थिए । राजा हम्बिर सेनले भाइ धर्माङ्गद सेनलाई तनहुँको राजा तँ न हो भनेकाले तनहुँ र भाइ धर्माङ्गद सेनले ल म जुङ्ग भनेकाले लमजुङ नाम बन्न गएको किंवदन्ती रहेको छ । तनहुँसुरका अन्तिम राजा हरकुमारदत्त सेन र लमजुङका राजा वीरमर्दन शाह मनाङ, मुस्ताङ, पर्वत र पाल्पाको बाटो हुँदै तनहुँको शासनभार त्यागेर तनहुँको विरासत राज्य रामनगरमा पुगेर विश्राम लिएको बताइन्छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *