स्पेनद्वारा इटालीबाट हुने हवाई तथा समुद्री यात्रामा सीमा जाँच लागू

म्याड्रिड । सेउटामा आप्रवासीको आगमनलाई लिएर स्पेन र इटालीबीच विवाद चर्किँदै गएपछि स्पेनले इटालीबाट हुने हवाई तथा समुद्री यात्रामा सीमा जाँच लागू गरेको छ।

स्पेनले मध्यरातदेखि लागू गरेको नयाँ व्यवस्था एक महिनासम्म रहनेछ। इटालीले स्पेनबाट आउने गैर–युरोपेली संघ (ईयू) नागरिकमाथि यस्तै सीमा जाँच सुरु गरेको एक सातापछि स्पेनले पनि प्रतिकारात्मक कदम चालेको हो।
मोरक्कोबाट स्पेनको उत्तरी अफ्रिकी भूभाग सेउटामा करिब ७८ हजार आप्रवासी प्रवेश गरेपछि दुई देशबीच विवाद बढेको हो।

स्पेनले शुक्रबार इटालीलाई आइतबारसम्म सीमा जाँच हटाउन माग गरेको थियो। तर, इटालीले जाँच कम्तीमा अगस्ट १५ सम्म जारी रहने स्पष्ट पारेको छ। रोमका अनुसार, त्यस अवधिमा सेउटामा आप्रवासीको अर्को लहर आउने आशंका गरिएको छ।

यस विवादले स्पेनका समाजवादी प्रधानमन्त्री पेद्रो सान्चेज र इटालीकी रूढिवादी प्रधानमन्त्री जर्जिया मेलोनीबीच राजनीतिक टकरावसमेत बढाएको छ। मेलोनीले लामो समयदेखि ईयूको आप्रवासन नीति थप कडा बनाउनुपर्ने पक्षमा आवाज उठाउँदै आएकी छन्।

इटालीको स्पेनसँग स्थल सीमा छैन। तर, इटाली सरकारले सेउटामा प्रवेश गरेका आप्रवासीहरू अन्य मार्ग हुँदै इटाली पुग्न सक्ने सम्भावना रोक्न शेन्जेन क्षेत्रअन्तर्गतको सीमा–रहित आवागमन व्यवस्था अस्थायी रूपमा निलम्बन गरिएको जनाएको छ।

स्पेनले भने इटालीको तर्कलाई अस्वीकार गर्दै त्यसमा तथ्यगत आधार नभएको बताएको छ । सेउटामा प्रवेश गरेका आप्रवासीहरूलाई शेन्जेन क्षेत्रमा प्रवेश गर्ने तत्काल कुनै बाटो नरहेको स्पेनको दाबी छ।

स्पेनको दबाबको जवाफ दिँदै इटालीले आफूले कुनै पनि “अल्टिमेटम” स्वीकार नगर्ने जनाएको छ । सुरक्षा तथा आतंकवादी जोखिम पूर्ण रूपमा समाप्त नभएसम्म स्पेनबाट आउने गैर–ईयू नागरिकमाथिको अतिरिक्त सीमा जाँच हटाउने निर्णय पुनर्विचार नगर्ने इटालीको भनाइ छ।

इटालीका अधिकारीहरूले सीमा जाँचका क्रममा स्पेन तथा अन्य युरोपेली देशका नागरिकलाई सकेसम्म सहजता प्रदान गर्ने बताएका छन्। स्पेनी नागरिक भने इटाली प्रवेश गर्दा अतिरिक्त जाँचबाट मुक्त हुनेछन्।

तर, केही विमानस्थलमा स्पेनबाट आउने यात्रुका लागि छुट्टै लाइन बनाइएकाले पछिल्ला दिनमा लामो प्रतीक्षा भइरहेको एल पाइस ले जनाएको छ।

स्पेनले लागू गरेको नयाँ व्यवस्थाअनुसार इटालीबाट आउने यात्रुको राहदानी, राष्ट्रियता र भिसा जाँच गरिनेछ। स्पेन सरकारले देशमा जारी ‘अनियमित आप्रवासनको दबाब’ का कारण यस्तो कदम चालिएको जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *