ट्रम्पद्वारा फेडकी गभर्नर कुकलाई हटाउने प्रयास पुनः सुरु

रोयटर्स । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडरल रिजर्भकी गभर्नर लिसा कुकलाई पदबाट हटाउने प्रयास पुनः थालेका छन्। यससँगै अमेरिकी केन्द्रीय बैंकको स्वतन्त्रतामाथि ट्रम्पको दबाब फेरि बढेको छ।

रोयटर्सले प्राप्त गरेको पत्रअनुसार ह्वाइट हाउसले यसै साता कुकलाई पत्र पठाउँदै उनलाई पदबाट हटाउने विषयमा राष्ट्रपति ट्रम्पले ‘विचार गरिरहेको’ जनाएको छ। पत्रमा कुकमाथि लगाइएको मोर्टगेज ठगीसम्बन्धी आरोपबारे तीन साताभित्र जवाफ दिन भनिएको छ।

कुकका वकिलले भने आरोपलाई ‘आधारहीन’ भन्दै उनलाई पदबाट हटाउने कुनै वैध आधार नरहेको बताएका छन्।
ह्वाइट हाउसका उपप्रमुख कर्मचारी डान स्काभिनोले हस्ताक्षर गरेको पत्रमा कुकले ३० वर्षसम्म जेल सजाय हुन सक्ने अपराध गरेको आरोप लगाइएको छ। साथै, उनको व्यवहारले लापरबाही देखाएको र फेड गभर्नरका रूपमा उनको विश्वसनीयतामाथि प्रश्न उठेको दाबी गरिएको छ।

कुकका वकिल एबे डी. लोवेलले पछिल्लो प्रयासलाई पनि अदालतमा चुनौती दिने बताएका छन्। ‘उहाँलाई हटाउने कुनै वैध कारण छैन। हामी यस पछिल्लो बहानालाई चुनौती दिनेछौं,’ लोवेलले भने।फेडरल रिजर्भ र ह्वाइट हाउसले भने यस विषयमा तत्काल प्रतिक्रिया दिएका छैनन्।

ट्रम्पले यसअघि पनि मोर्टगेज ठगीको आरोप लगाउँदै कुकलाई हटाउने प्रयास गरेका थिए। कुकले आरोप अस्वीकार गर्दै मौद्रिक नीतिसम्बन्धी मतभेदका कारण आफूलाई हटाउन खोजिएको बताएकी थिइन्।

अमेरिकी सर्वोच्च अदालतले गत जुनमा ट्रम्पको कुकलाई हटाउने प्रयासमा रोक लगाएको थियो। उक्त निर्णयले फेडरल रिजर्भको स्वतन्त्रतालाई संरक्षण गरेको थियो।

कुकलाई हटाउने प्रयास पुनः सुरु भएको घटना यसै साता ट्रम्पले सर्वोच्च अदालतबाट रोकिएको जन्मसिद्ध नागरिकतासम्बन्धी आफ्नो नीतिलाई पुनः अघि बढाएपछि आएको हो। ट्रम्पले यसअघि फेडरल रिजर्भका पूर्व अध्यक्ष जेरोम पावेललाई ब्याजदर घटाउन दबाब दिँदै पदबाट हटाउने धम्कीसमेत दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *