आस्ट्राजेनेका खोप सुरक्षित र प्रभावकारी रहेको ईएमएको निष्कर्ष

युरोपेली सङ्घ ईयूको औषधि नियामक ईएमएले गरेको एउटा समीक्षाले अक्सफर्ड–आस्ट्राजेनेका कोभिड खोप सुरक्षित र प्रभावकारी रहेको निष्कर्ष निकालेको छ । उक्त खोप र रगत जम्ने समस्याबीच सम्बन्ध हुनसक्ने भन्ने त्रासकाबीच ईयूका १३ देशले सो खोपमा अस्थायी प्रतिबन्ध लगाएपछि ईएमएले अनुसन्धान गरेको थियो ।

इटली, स्पेन र जर्मनीसहितका केही देशले उक्त खोपको प्रयोगलाई शुक्रवारबाट पुनः सुरु गर्ने घोषणा गरेका छन् । स्विडेनले निर्णय लिनका लागि आफूलाई केही दिन चाहिने जनाएको छ । ईएमएको समीक्षाका क्रममा अक्सफर्ड–आस्ट्राजेनेका खोप रगत जम्ने उच्च जोखिमसँग नजोडिएको पाइएको हो ।

तर थोरै सङ्ख्यामा हुनसक्ने निकै दुर्लभ अवस्थालाई भने पूर्ण रूपमा नकार्न नसकिने उक्त निकायले जनाएको छ । ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले बिहीवार अनलाइन पत्रकार सम्मेलनमा आफ्नो निष्कर्ष सुनाएकी हुन् ।

ईएमएकी कार्यकारी निर्देशक ईमिर कोकीले भनिन्, ‘यसले अस्पताल भर्ना हुनुपर्ने वा ज्यान नै गुमाउनसक्ने जोखिम भएका मानिसहरूलाई जोगाउन सघाउँछ जुन सम्भावित जोखिमभन्दा निकै महत्त्वपूर्ण कुरा हो।’

आफ्ना खोप कार्यक्रममा आस्ट्राजेनेका प्रयोग गर्ने/नगर्ने विषयमा ईयू देशहरूले एक्लाएक्लै निर्णय गर्न सक्नेछन् । विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ)ले बिहीवार देशहरूलाई उक्त खोपको प्रयोग जारी राख्न आग्रह गरेको थियो ।

आस्ट्राजेनेका कम्पनीले ईयू र वेलायतमा ८ मार्च सम्ममा १ करोड ७० लाखले आफ्नो खोप लगाएकामा ३७ वटा रगत जम्ने समस्याका खबर पाएको जनाएको छ । उसले रगत जम्ने त्यस्ता घटनाको सङ्ख्या आम जनसङ्ख्यामा सामान्यतः भइरहने भन्दा कम भएको जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *