USAID

१७ बुँदे प्रस्ताव पारित गर्दै सकियो एमालेको माधव नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेला


काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षको राष्ट्रिय कार्यकर्ता भेलाले पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काउन माग गर्दै पार्टी एकता बचाउन अन्तिम समयसम्म कोशिश गर्ने निर्णय गरेको छ । ललितपुरको सानेपामा दुई दिनसम्म चलेको दुई दिने राष्ट्रिय कार्यकर्ता भेलाले १७ बुँदे प्रस्ताव पारित गर्दै पार्टी एकता बचाउन हरसम्भव प्रयास गर्ने निर्णय गरेको हो ।

भेलाको समापन गर्दै वरिष्ठ नेता नेपालले कार्यकर्ताको भावनाअनुसार ओलीलाई सच्याउन आफूहरूले अन्तिम समयसम्म लड्ने र मैदान छाडेर नभाग्ने बताएका छन् ।

बुधबारबाट सुरु भएको भेलामा वरिष्ठ नेता माधवकुमार नेपालले पेस गरेको अवधारणा पत्रमाथि १० समूहले छलफल गरेको र उनीहरुको सुझावसमेत समेटेर भेलाबाट १७ बुँदे प्रस्ताव पारित गरिएको पत्रकार सम्मेलनमार्फत नेता योगेश भट्टराईले जानकारी दिएका छन् । भेलाले ओली समूहको केन्द्रीय कमिटी बैठकले गरेको निर्णय अस्वीकार गर्दै यस्ता निर्णय अदालतको फैसलाविपरीत तथा एमाले पार्टी विभाजन गर्ने उद्देश्यबाट प्रेरित भएको निष्कर्ष निकालेको छ ।

भेलाले एकतापूर्वको स्थिति स्वीकार गरी फागुन २८ गतेको निर्णय रद्द गर्न माग गरेको छ । भेलाले संसद् पुनःस्थापना गर्ने अदालतको फैसलाको स्वागत गरेको छ भने एमाले र माओवादी केन्द्रको एकता बदर गर्ने फैसलाको निर्णयप्रति आपत्ति जनाएको छ ।

 


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *