तान्जनियाका राष्ट्रपति मगुफुलीको ६१ वर्षको उमेरमा निधन

तान्जनियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा निधन भएको भएको छ । राष्ट्रपति मगुफुलीको निधन भएको उपराष्ट्रपतिले घोषणा गरेका छन् । राजधानी दारेसलाममा मुटुको उपचारका क्रममा मगुफुलीको बुधवार निधन भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले टेलिभिजनमार्फत् घोषणा गरेका हुन् ।

मगुफुली दुई साताभन्दा बढी समयदेखि सार्वजनिक रूपमा देखा परेका थिएनन् र उनको स्वास्थ्यबारे विभिन्न हल्ला चलेका थिए । विपक्षी नेताहरूले उनलाई कोरोनाभाइरसको सङ्क्रमण भएको दाबी गरे पनि त्यसको पुष्टि हुन सकेको छैन । गतसाता देशका प्रधानमन्त्रीले मगुफुली स्वस्थ्य रहेको र राम्ररी काम गरिरहेको बताएका थिए ।

तान्जनियामा मगुफुलीको एकजना विवादित नेताको पहिचान थियो । भ्रष्टाचारसँग जुझ्ने र उच्च सरकारी खर्च घटाउने कामका लागि उनको प्रशंसा हुनेगर्छ । उनले खानीमा काम गर्ने विदेशी कम्पनीलाई बढी कर तिर्न लगाएका थिए ।

तर विपक्षी नेता र सञ्चारमाध्यमहरूप्रति कडा व्यवहार गर्दै बढ्दो रूपमा निरङ्कुश चरित्र देखाएको भन्दै उनको आलोचना हुने गर्दथ्यो । मगुफुली सन् २०१५ मा पहिलोपटक राष्ट्रपति निर्वाचित भएका थिए ।

उनी सन् २०१५ को अक्टोबरमा आफ्नो ५६औँ जन्मदिनमा देशको राष्ट्रपति घोषित भएका थिए । गत वर्षको एउटा विवादित चुनावपछि उनी दोस्रो कार्यकालका लागि निर्वाचित भएका थिए ।

तान्जनियाको संविधान अनुसार राष्ट्रपतिको पाँचवर्षे कार्यकालमध्ये अब उनको बाँकी समय देशका उपराष्ट्रपतिले निर्वाह गर्नेछन् । गत जुन महिनामा मगुफुलीले तान्जनियालाई ’कोभिड–१९ मुक्त’ घोषणा गरेका थिए ।

उनले मास्कको प्रभावकारिताका बिषयमा हलुका अभिव्यक्ति दिनुका साथै कोरोनाभाइरसको परीक्षणबारे शङ्का व्यक्त गरेका थिए । उनले महामारीसँग जुझ्न छिमेकी देशहरूले चालेका स्वास्थ्यका उपायको खिल्ली उडाएका थिए । मे महिनायता तान्जनियाले कोरोनाभाइरसका विवरण प्रकाशित गरेको छैन ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *