उत्तर कोरियासँग वार्ता गर्ने अमेरिकी सरकारको प्रयास असफल

अमेरिकी राष्ट्रपति जो बाइडन प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको भएपनि अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बताएको छ ।

अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो । उत्तर कोरियाको परमाणु कार्यक्रम र बलिस्टिक क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध छ ।

बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जङ–अनबीच तीनवटा वार्ता भएका थिए। तर तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् । उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पाश्चात्य देशहरूको मुख्य चाहना छ । तर ती वार्ता त्यसका लागि फलदायक भएनन् ।

किम जङ–अन र उत्तर कोरियाली सरकारी सञ्चारमाध्यमले अझै जो बाइडन अमेरिकी राष्ट्रपति बनेको कुरालाई आत्मसात् गरिसकेका छैनन् ।

प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ’न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो ।

एक अमेरिकी अधिकारीले समाचारसंस्थालाई रोएटर्स बताएअनुसार उत्तर कोरियासँग ’कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन । उक्त अवधिमा डोनल्ड ट्रम्पको कार्यकालको अन्तिम वर्षको धेरैजसो समय समेत समेटिन्छ । बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गरेका छन् ।

त्यस्तो समीक्षा अप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ।उनले किमलाई घातक भन्दै उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिएका छन् ।

तर किमले आफ्नो देशको देशको सैन्य क्षमता विस्तार गरिरहेका छन् । उनको दाबीअनुसार उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको छ । तर उनले अमेरिकालाई शत्रुवत् नीति त्याग्न पनि आग्रह गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *