प्रज्जवल थापा । सातदोबाटो युथ क्लबले बि डिभिजन लिगको उपाधि जितेको छ । आज भएको लिगको अन्तिम खेलमा सातदोबाटोले रानी पोखरी कर्नर टिम(आरसिटी) लाई १-० गोल अन्तरले पराजित गर्दै लिगको उपाधि उचालेको हो ।
सातदोबाटो दुई खेल अगाडि नै ए डिभिजन लिगमा बढुवा भैसकेको थियो । बिहिबार ललितपुरस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा सातदोबाटोलाई जित दिलाउन माल्डिना अङ्थुपोले खेलको ६७ मिनेटमा गोल गरेका थिए । आजै भएको अर्को खेलमा मध्यपुर युथ एसोसियसनले झम्सिखेल युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिगमा एकमात्र हार बेहोरेको सातदोबाटोले ११ खेलमा २८ अङ्क जोड्दै ए डिभिजन लिगमा बढुवा भएको छ । दोस्रो स्थानमा रहेको खुमालटारले समान खेलमा २५ अङ्क जोड्यो । यस्तै बाँसबारी क्लबले ११ खेलमा २१ अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेर लिगको अन्त्य गर्दा ब्वाइज युनियन क्लब, मध्यपुर युथ एसोसियसन, श्री भगवती, नयाँबस्ती, श्री कुमारी, आरसिटी, टुसाल युथ क्लब, झाम्सिखेल युथ क्लब क्रमशः चौथो, पाँचौ, छैटौं, सातौं, आठौं, नवौं, दसौं र ११ औं स्थानमा रहँदै लिगको अन्त्य गरे ।
लिगको ११ खेलमा मात्र ५ अङ्क जोडेको पुलचोक स्पोर्ट्स क्लब भने सि डिभिजनमा घटुवा भएको छ । यस्तै लिग च्याम्पियन भएको सातदोबाटोले १५ लाख रुपैयाँ पाएको छ भने उपविजेता खुमलटार युथ क्लबले १० लाख रुपैयाँ पायो । यस्तै तेस्रो भएको बाँसबारीले आठ लाख र चौथो भएको ब्वाइज युनियनले पाँच लाख रुपैयाँ पाए ।
तस्बिर:- एन्फा
