बुटवलका ‘सामुदायिक माध्यमिक विद्यालय’ देशकै उत्कृष्ट

बुटवल । सामुदायिक माविको कार्य सम्पादनमा बुटवल उपमहानगरपालिकाका सामुदायिक विद्यालय मुलुकमै उत्कृष्ट देखिएका छन् । शैक्षिक गुणस्तर परीक्षण केन्द्रले देशभरबाट नमूना विद्यालयका रुपमा छनोट गरी शैक्षिक शत्र २०७५÷७६ मा गरेका सामुदायिक विद्यालयको कार्य सम्पादन परीक्षणको हालै प्रकाशित गरेको परीक्षणको समष्टिगत प्रतिवेदनमा बुटवलमा सामुदायिक माध्यमिक विद्यालय उत्कृष्ट देखिएको हो ।

मुलुकभरका नौ जिल्ला नमूना सामुदायिक विद्यालय छनोट गरी कार्यसम्पादन मूल्याङ्कनका आधारमा बुटवलका विद्यालय देशभरकै पालिकामा प्रथम भएको केन्द्रका प्रमुख उत्तरकुमार पराजुलीले जानकारी दिए । उनले परीक्षणमा ९० प्रतिशतभन्दा बढी अङ्क प्राप्त गरेका पालिका उत्कृष्ट ठहरिएको जानकारी दिए ।

उनका अनुसार सामुदायिक विद्यालयको मुख्यतया चार सूचकमा विभाजन गरी मूल्याङ्कको गरिएको थियो । विद्यालयमा समग्र लगानी २७ सूचक, प्रक्रियाका ४६ सूचक, शिक्षकको योग्यता तथा उपलब्धता १५ सूचक र समुदायबाट विद्यालयलाई सहयोगलाई मानेर जम्मा ८९ सूचकमा बाडेर मूल्याङ्कन गरिएको थियो ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रले शैक्षिक निकायको कार्यसम्पादन परीक्षण सूचकमा विद्यालयमा गरिएको लगानी, प्रक्रिया, उपलब्धि, विद्यार्थी सङ्ख्या र नतिजालाई विषय क्षेत्र निर्धारण गरिएको छ । लगानीअन्तर्गत विद्यालयको भौतिक पूर्वाधार, शिक्षक र समुदायको सहभागितासम्बन्धी सूचक छन् ।

प्रक्रियामा कक्षा शिक्षण, विद्यार्थी मूल्याङ्कन, शिक्षकको पेसागत विकास, नेतृत्व र व्यवस्थापन र सह तथा अतिरिक्त क्रियाकलापसम्बन्धी सूचक छन् । उपलब्धि सम्बद्ध सूचकमा विद्यार्थीको विद्यालयमा नियमितता, विद्यालय छाड्ने र कक्षा दोहोर्याउने दर, विद्यार्थीको औसत सिकाइ उपलब्धि, सेवाग्राही सन्तुष्टि र शिक्षकको पेसागत सन्तुष्टि सम्बद्ध सूचकका आधारमा मूल्याङ्कन गरिएको थियो ।

यी समग्र पक्षमा मुलुकभरका पालिकामा बुटवलका विद्यालय उत्कृष्ट भएको हो । परीक्षण पूर्वको चरण, परीक्षणको चरण र परीक्षण पश्चात्को चरणको विद्यालयको अवस्था हेरेर मूल्याङ्कन गरिएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रले जनाएको छ ।

शैक्षिक गुणस्तर परीक्षण केन्द्रबाट कार्य सम्पादन परीक्षण गरिएका देशभरका नौ जिल्लाका ९९६ विद्यालयमध्ये ८३ दशमलव २ प्रतिशत विद्यालयको कार्य सम्पादनको अवस्था सामान्य देखिएको छ । उत्तम कार्य सम्पादन भएका विद्यालय ९९६ मध्ये जम्मा बुटवल र दार्चुला उत्कृष्ट देखिएका छन् ।

कार्यसम्पादन परीक्षणमा मध्यम खालका विद्यालयको प्रतिशत सबैभन्दा धेरै रुपन्देही अर्थात् बुटवल उपमहानगरमा पाइएको छ । यो २०.३ प्रतिशत छ । सबैभन्दा कम अर्थात् ७ प्रतिशत रोल्पामा छ । औसत अङ्कमा बुटवलमा विद्यालयको सबैभन्दा बढी ९० अङ्क छ भने कममा ६० प्रतिशत छ ।

रुपन्देहीकै अरु पालिकामा बढी अङ्क ८१ मात्रै छ भने कममा ४० छ । परीक्षणका लागि रुपन्देहीका १६ वटै पालिकाका सामुदायिक मावि परेका थिए । बुटवलका २० वटा सामुदायिक माविको मूल्याङ्कन गरिएको थियो । रुपन्देहीसहित देशैभरका पालिकाहरूबाट बुटवल उत्कृष्ट भएको शैक्षिक गुणस्तर परीक्षण केन्द्रको प्रतिवेदनमा उल्लेख छ ।

शिक्षाको विकासका लागि बुटवलमा भएको योजनाबद्ध तथा दिगो विकास लक्ष्य अनुरुपका कामको नतिजा मानिएको र आगामी वर्षमा अझ सुधारका लागि हौसला बढाएको बुटवल उपमहानगरका प्रमुख शिवराज सुवेदीले बताए ।

समग्र उपमहानगरलाई एउटा विद्यालय अर्थात् सिकाइ स्थलका रुपमा विकास गर्दै मुलुकभरमै पहिलो पटक शैक्षिक संगोष्ठी, स्थानीय पाठ्यक्रम निर्माण, पाठ्यपुस्तक छपाइ तथा पठनपाठन गराउनेदेखि अतिरिक्त क्रियाकलापमा उत्कृष्ट बनाउने गरी योजना तय भएको प्रमुख सुवेदीको भनाइ छ ।

प्राप्त नतिजाले विद्यालयको समग्र कार्य सम्पादनको अनुगमन गर्न सहज भई शैक्षिक क्षेत्रको सुधार र अरु प्रगतिका लागि दूरदृष्टि तय गरी आगामी योजना निर्माण गर्न मात्र नभई कार्यान्वयनका गर्दा ध्यान दिनुपर्ने पक्षबारे मार्ग निर्देश भएको प्रमुख सुवेदीले बताए ।

बुटवल उपमहानगरपालिकाअन्तर्गत ३९ सामुदायिक विद्यालय छन् । यीमध्ये रात्रि मावि, महिला विद्यालय, खुला विद्यालय, विशेष विद्यालय (सुस्तमनस्थिति), गुरुकुल विद्याश्रम र तीन मदरसा विद्यालय सञ्चालनमा छन् । कक्षा १ देखि १२ सम्म बुटवलका सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या करिब २३ हजार छन् ।

अहिलेको नतिजाले अझ उत्कृष्ट बनाउन हौसला बढाएको बताउँदै उपमहानगरका शिक्षा, स्वास्थ्य तथा जनसङ्ख्या महाशाखा प्रमुख उपसचिव मित्रमणि खनालले सबै पक्षको सहकार्य र समन्वयमा बुटवलको शैक्षिक गुणस्तर उत्कृष्ट बन्दै गएको उल्लेख गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *