काठमाडौं । सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एन–प्याब्सन) लाई अर्को निर्णय नभएसम्मका लागि निलम्बन गरेको छ । गृह मन्त्रालयले शुक्रबार सार्वजनिक सूचना जारी गर्दै राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ६ को उपदफा (२) बमोजिम एन–प्याब्सनलाई निलम्बन गरिएको जनाएको हो ।
मन्त्रालयका अनुसार एन–प्याब्सनले राष्ट्रिय निर्देशन ऐन, २०१८ को दफा ५ बमोजिम मन्त्रालयले दिएको निर्देशन पटक–पटक पालना नगरेको पाइएको छ । साथै, संगठनका पदाधिकारीहरूले नेपाल सरकारबाट स्वीकृत विधान तथा संस्थाको मूल उद्देश्यविपरीतका गतिविधि गरेको मन्त्रालयको भनाइ छ । यस विषयमा मन्त्रालयले गत असोज २३ गते सम्बन्धित सरोकारवालासँग छलफल गरी ऐन तथा मन्त्रालयले २०८२ मंसिर १२ गते जारी गरेको निर्देशनअनुसार काम गर्न आग्रह गरेको थियो ।
तर, उक्त निर्देशनसमेत पालना नभएपछि संगठन निलम्बन गर्ने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना जारी भएपछि एन–प्याब्सनको नाममा कुनै पनि समूह वा गुटबाट गतिविधि सञ्चालन गरिए गैरकानुनी हुने र प्रचलित कानुनबमोजिम कारबाही गरिने चेतावनीसमेत दिएको छ ।
