काठमाडौँ। संघीय संसद सचिवालयले प्रतिनिधि सभा बैठक सञ्चालनको तयारी गरेको छ।मन्त्रिपरिषद्को बैठकले फागुन २३ गते प्रतिनिधि सभा बैठक आव्हान गरेपछि संघीय संसद सचिवालयले आफ्नो तयारी शुरु गरेको हो।
संघीय संसद सचिवालयको सहायक प्रवक्ता दशरथ धमलाले सचिवालयले प्रतिनिधि सभाको बैठक व्यवस्थापनलाई प्राथमिकतामा राखेर काम गरिरहेको बताए।
कोरोना महामारी विद्यामान रहेको अवस्थामा स्वास्थ्य सर्तकतालाई पनि ध्यान दिइएको उनको भनाई छ । कर्मचारी व्यवस्थापन तथा प्रशासनिक कामहरुको पनि तयारी गरिएको बताए।
उनले भने ‘सचिवालयका धेरै कामहरु मध्ये बैठकहरुको व्यवस्थापन पनि एउटा महत्वपूर्ण काम हो। यसलाई सचिवालयले प्राथमिकतामा राखेर काम गरिरहेको छ । विशेषगरी अहिले हामीले विभिन्न आयामबाट हेरेका छौँ । अहिलेपनि कोरोना महामारीको अवस्था छदैँछ ।
त्यसलाई पनि मध्यनजर गर्नुपर्नेछ । प्रशासनिक व्यवस्थापन अन्तरगत एजेण्डाहरु के के हुनसक्छन् ? विधेयकहरुको अवस्था कस्तो छ ? कुन कर्मचारी कहाँ खटाउने, कसरी अवस्था छ ? लगायतका कुराहरुलाई प्रशासनिक व्यवस्था अन्र्तगत हामीले काम गरिरहेका छौँ।’
स्वास्थ्य मापदण्ड पालना गराउँदै सचिवालयको कमी कमजोरीका कारण कोरोना फैलिन नदिन ध्यानपूर्वक काम गरिरहेको उनले बताए । त्यसैगरी प्राविधिक रुपमा पनि तयारी गरीएको बताए।
उनले भने ‘स्वास्थ्यजन्य व्यवस्थापन, बैठक व्यवस्थापन गरिरहँदा कुनैपनि ढंगले सचिवालयका कमी कमजोरीका कारणबाट कोभिड–१९को समस्या नफैलियोस् भनेर त्यो कुरालाई विशेष फोकस गरेर हामीले ध्यानपूर्वक सुक्ष्म रुपमा काम गरिरहेका छौँ। सरसफाइ, सेनिटाइजर, सिटको व्यवस्थापन समग्र कुराहरुमा ध्यान दिएर काम गरिरहेका छौँ।
संसद सचिवालयले विधेयकहरुको अवस्थाको विषयमा पनि अध्ययन गरिरहेको बताएको छ। समितिको बैठक सञ्चालन गर्ने सन्दर्भमा पनि सचिवालयको तयारी रहेको भन्दै आवश्यक परे समितिहरुको बैठक सञ्चालन गर्न पनि प्रशासनिक तवरबाट तयारी अवस्थामा रहेको सहायक प्रवक्ता धमलाले बताए।
प्रविधिमा फोकस गर्नुपर्ने छ। लाइटिङ सिस्टम, साउन्ड सिस्टम, माइक व्यवस्थापनका कुराहरुमा हेरिरहेका छौँ । समस्या छ कि भनेर चेक गरिरहेका छौँ । भौतिक व्यवस्थापनका कुराहरु गरिरहेका छौँ।’
