काठमाडौं । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत मकवानपुर जिल्लामा रहेको तरकारी जोनलाई सुपरजोनका लागि सिफारिस गरिएको छ ।
प्रधानमन्त्री कृषि आधुनिकीकरण जिल्ला परियोजना कार्यावन्यन समन्वय तथा अनुगमन समितिको बिहीवार सम्पन्न बैठकले जिल्लाको तरकारी जोनलाई सुपरजोनका रूपमा सिफारिस गर्ने निर्णय गरेको जनाएको छ।
सुपरजोनका लागि जिल्ला समन्वय समितिले प्रदेशको कृषि मन्त्रालयमा र प्रदेश मन्त्रालयले केन्द्रमा सिफारिस गरेर निर्धारण हुने बताइएको छ ।
साथै बैठकले जिल्लामा उत्पादित बालीहरुको प्राथमिकीकरणसमेत तोकेको छ ।
समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतामा सम्पन्न बैठकले सिफारिस गरेको जनाइएको छ । बैठकले विगत चार वर्षदेखि मकवानपुरमा सञ्चालित तरकारी क्षेत्रको कार्यक्षेत्रमा रहेको थाहा नगरपालिका–१ देखि १२ सम्म ६०० हेक्टर तथा इन्द्रसरोवर गाउँपालिकाको कार्यक्षेत्रमा रहेका ४५० हेक्टर गरी कुल एक हजार ५० हेक्टर क्षेत्रफललाई सुपरजोनका रूपमा सिफारिस गरेको हो ।
पालिका कृषि शाखा तथा प्रतिनिधिबाट प्राप्त तथ्याङ्कका आधारमा जिल्लामा उत्पादन भइरहेका बाली तथा पशु व्यवसायको प्राथमिकीकरण गरिएको उहाँले बताउनुभयो । बैठकले जिल्लाको पालिकाबाट प्राप्त तथ्याङ्क र विवरणका आधारमा जिल्लामा एक नम्बरमा आलुखेतीलाई प्राथमिकीकरण गरेको छ ।
त्यस्तै दोस्रोमा मकै, तेस्रोमा बाख्रापालन, चौथौमा धान र पाँचौँमा अदुवा र बेसारखेतीलाई प्राथमिकीकरण गरिएको छ ।
