अमेरिकामा कोरोना संक्रमणबाट दुई विश्वयुद्ध र भियतनाम युद्धमा भन्दा बढी मानिसको मृत्यु

अमेरिकामा कोभिड–१९ का कारण मृत्यु हुने मानिसको सङ्ख्या पाँच लाख नाघेको छ। अमेरिका कोरोनाभाइरसका कारण सर्वाधिक मृत्यु बेहोर्ने देश हो ।

अमेरिकाको पश्चिमी तटमा पहिलो पटक कोरोनाभाइरस पाइएको एक वर्षभित्र पाँच लाखभन्दा बढीको उक्त रोगका कारण निधन भएको हो। कोरोनाभाइरस सुरुमा चीनमा देखा परेको थियो ।

मृतकको सङ्ख्या पाँच लाख नाघेको कठोर क्षणलाई ह्वाइट हाउसमा मौनधारण र मैनबत्ती बालेर स्मरण गरिएको छ । त्यहाँ अमेरिकी राष्ट्रपति जो बाइडनले शोक मन्तव्य पनि दिए ।

अमेरिकामा दुई करोड ८१ लाखभन्दा बढी मानिसहरू कोरोनाभाइरस सङ्क्रमित भएका छन्। कोरोनाभाइरसको सर्वाधिक सङ्क्रमण हुने देशको सूचीमा अमेरिका शीर्ष स्थानमा छ । राष्ट्रपति बाइडनले सोमवार दिउँसो जारी गरेको आह्वानमा सबै सङ्घीय संस्थालाई आगामी पाँच दिनका लागि आधा झण्डा झुकाउन भनिएको छ ।

बाइडनले ह्वाइट हाउसमा भने, ‘अहिलेसम्म भाइरसका कारण पाँच लाखभन्दा बढी अमेरिकीहरूको ज्यान गइसकेको छ। यो एक वर्षभित्र महामारीका कारण पहिलो र दोस्रो विश्वयुद्ध तथा भियतनाम युद्धमा अमेरिकाको पक्षमा भएको मानवीय क्षतिभन्दा बढी हो।’ उनले अमेरिकीहरूलाई एक हुन र महामारीलाई परास्त गर्न पनि आह्वान गरे ।

अमेरिकामा कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या दोस्रो स्थानमा रहेको भारतको भन्दा दोबर देखिएको छ । अमेरिकापछि ब्रजिलमा सबैभन्दा धेरै मानिसको निधन भएको छ ।

त्यहाँ दुई लाख ४४ हजारको कोभिड–१९ का कारण ज्यान गइसकेको छ । त्यस्तै तेस्रो स्थानमा रहेको मेक्सिकोमा एक लाख ७८ हजारको निधन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *