हर्मुजमा अमेरिकी भूमिकाप्रति इरानको आपत्ति

तेहरान ।  इरानले पर्सियन खाडी र हर्मुज जलमार्गको सुरक्षा व्यवस्थामा अमेरिकी नेतृत्व स्वीकार्य नभएको स्पष्ट गर्दै क्षेत्रीय सुरक्षा बाह्य सैन्य गठबन्धनबाट नभई सम्बन्धित देशहरूले नै सुनिश्चित गर्नुपर्ने अडान दोहोर्‍याएको छ ।

इरानका कानूनी तथा अन्तर्राष्ट्रिय मामिलासम्बन्धी उपविदेशमन्त्री काजेम गरिबाबादीले बहराइनमा सम्पन्न अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा सम्मेलनको आलोचना गर्दै यस्तो धारणा सार्वजनिक गरेका हुन् ।

गरिबाबादीले सामाजिक सञ्जाल एक्समार्फत हर्मुज जलमार्ग इरानको सुरक्षा अवधारणाअन्तर्गत पर्ने उल्लेख गर्दै त्यसको व्यवस्थापन अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले निर्धारण गर्न नसक्ने बताए । बहराइनमा आयोजित सैन्य सम्मेलनले पर्सियन खाडीको कानूनी व्यवस्था वा सुरक्षा संरचना तय गर्न नसक्ने उनको भनाइ थियो ।

उनले क्षेत्रीय स्थायित्व विदेशी सैन्य उपस्थितिबाट सम्भव नहुने उल्लेख गर्दै अमेरिकी हस्तक्षेपको अन्त्य, क्षेत्रबाट अमेरिकी सेना फिर्ता, सम्बन्धित देशहरूको सार्वभौमिकताको सम्मान तथा बदलिँदो भूराजनीतिक यथार्थको स्वीकारोक्तिबाट मात्रै दीर्घकालीन सुरक्षा सुनिश्चित हुने धारणा राखे ।

गरिबाबादीको प्रतिक्रिया बहराइनमा अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) को पहलमा सम्पन्न क्षेत्रीय सुरक्षा सम्मेलनपछि आएको हो ।

उक्त सम्मेलनमा बहराइन, इजिप्ट, जोर्डन, कुवेत, लेबनान, ओमान, कतार, साउदी अरेबिया, सिरिया, संयुक्त अरब इमिरेट्स र यमनका वरिष्ठ सैन्य अधिकारी सहभागी भएका थिए । सम्मेलनमा सेन्टकमका कमान्डर एडमिरल ब्राड कुपरले नेतृत्व गरेका थिए ।

बैठकमा हर्मुज जलमार्गबाट हुने अन्तर्राष्ट्रिय व्यापारिक जहाजको निर्बाध आवागमन सुनिश्चित गर्ने साझा प्रतिबद्धतामाथि छलफल भएको सेन्टकमले जनाएको छ । साथै क्षेत्रीय सुरक्षा, रक्षा सहकार्य र विकसित सुरक्षा चुनौतीहरूको सामना गर्न आपसी समन्वय विस्तार गर्ने विषयमा पनि सहभागी राष्ट्रहरूबीच सहमति भएको बताइएको छ ।

एडमिरल कुपरले क्षेत्रीय साझेदारहरूसँगको सहकार्यलाई सुरक्षा र स्थिरताको आधारका रूपमा उल्लेख गर्नुभएको छ । सेन्टकमका अनुसार यो सम्मेलनमा सिरिया र लेबनानका सैन्य अधिकारी पहिलो पटक अमेरिकी नेतृत्वको क्षेत्रीय सुरक्षा संवादमा सहभागी भएका हुन् ।

सेन्टकमले मध्यपूर्वमा सूचना आदानप्रदान, खतरा पूर्वसूचना र आकस्मिक प्रतिकार्यका लागि क्षेत्रीय साझेदारहरूसँग मिलेर हवाई तथा मिसाइल प्रतिरक्षा संयन्त्रलाई थप सुदृढ बनाउँदै आएको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *