काठमाडौँ । नेपाली कांग्रेसको १४औँ महाधिवेशन २०७८ साल भदौ ७ देखि १० गतेसम्म काठमाडौँमा हुने भएको छ । फागुनमा तोकिएको महाधिवेशन कोरोना महामारीका कारण हुन नसकेपछि बुधबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले आउँदो भदौमा पार्टीको महाधिवेशन गर्ने निर्णय गरेको नेता गोपालमान श्रेष्ठले जानकारी दिए । यद्यपि बैठकपछि जारी विज्ञप्तिमा भने महामन्त्री पूर्णबहादुर खड्काद्वारा महाअधिवेशनका लागि भदाै ७ देखि १० गतेसम्मकाे मिति प्रस्ताव गरिएकाे जनाइएकाे छ ।
दिउँसो २ बजे बैठक बोलाइए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षसँग संस्थापन पक्षले छलफल गरेपछि ढिलो गरी बैठक सुरु भएको थियो । पौडेल पक्षले जेठमै महाधिवेशन गर्नुपर्ने अडान राखे पनि अन्ततः सभापति शेरबहादुर देउवाको चाहनाअनुसार नै भदौमा महाधिवेश हुने भएको हो ।
कांग्रेसको विधान अनुसार देउवाको चार वर्षे कार्यकाल गएको फागुनमै सकिएको हो । कांग्रेस विधान अनुसार एक वर्ष कार्यकाल थप गर्न पाउने अधिकारको प्रयोग गरेर देउवाले यही फागुन १९ सम्म कार्यकाल बढाएका थिए । उनको कार्यकालको पाँच वर्ष पूरा हुँदैछ ।
संविधानमा कुनै पनि पार्टीको महाधिवेशन पाँच वर्षभित्र गर्नु पर्ने र विशेष परिवेश सिर्जना भएमा त्यसको ६ महिना भित्र गर्नु पर्ने बाध्यामत्क व्यवस्थाअनुसार कांग्रेसले त्यो अवधि पनि सकिने अन्तिम म्यादमा महाधिवेशन गर्ने भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक भोलि फागुन ६ गते बिहीबार दिउँसो ३ बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने मुख्य सचिव कृष्णप्रसाद पाैडेलद्वारा जारी प्रेस विज्ञप्तिमा जनाइएकाे छ ।






