प्रज्जवल थापा । आइसिसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गत नेपाल, अमेरिका र ओमनबिचको त्रिकोणात्मक सिरिज फेरी स्थगित भएको छ ।
नेपाल क्रिकेट संघ(क्यान)ले शुक्रबार प्रेस बिज्ञप्ति जारि गर्दै आईसीसीले अधिकारिक रुपमा सिरिज स्थगित गरेको बताएको हो । यस्तै आईसीसीले अप्रिलमा हुने पपुवा न्युगिनी, ओमान र स्कटल्याण्ड बीचको सिरिज तथा मेमा पपुवा न्यु गिनी, अमेरिका र नामिबिया बीचको सिरिज पनि स्थगित गरेको छ ।
यसअघि आइसिसीले आगामी मार्च १९ देखी २८ सम्म ओमनमा सिरिज गर्ने तयारी गरेको थियो । कोभिड-१९ को प्रभाव, लामो क्वेरन्टिनको प्रावधान र विभिन्न देशहरु बिच रहेको ट्राभल रेस्ट्रिक्सन आदि कारणहरुले गर्दा सिरिज स्थगित भएको क्यानले जनाएको छ ।

आईसीसीले गत महिना विश्वकप लिग-२ को खेलहरु पुनः सुचारु हुने बताउदै खेल तालिका सार्वजनिक गरेको थियो । त्यही अनुरुप नेपालले शनिबार देखि अभ्यास शुरु गरेको थियो । प्रधानमन्त्री कपमा गरेको प्रदर्शनको आधारमा क्यानले बन्द प्रशिक्षणको लागि ३२ जना खेलाडीको नाम सार्वजनिक गरेको थियो । सिरिज स्थगित भएता पनि क्यानले राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षणलाई भने निरन्तरता दिने भएको छ ।
पहिलो चरणको अभ्यास बिहिबार सकिएपछि अब दोश्रो चरणको अभ्यास शनिवार देखि सुरु हुनेछ । दोश्रो चरणमा कप्तान ज्ञानेन्द्र मल्ल सहित पारस खड्का, सन्दिप लामिछाने, सोमपाल कामि, दिपेन्द्र ऐरी, शरद भेष्वाकर, अविनाश बोहरा, करन केसी, कुशल मल्ल र आरिफ शेख पनि सहभागी रहनेछन् ।
