रसुवाको बाढी: त्रिशूली र नारायणी नदीमा १८ शव भेटिए

चितवन । तिब्बतबाट आएको बाढीसँगै चितवनका त्रिशूली र नारायणी नदीमा १८ वटा शव भेटिएको छ । कुरिनटारदेखि नारायणगढको लिला चोकसम्म ती शव भेटिएका हुन् ।

प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार साँझ ६ः०० बजेसम्म ठाउँ–ठाउँमा ती शव भेटिएका हुन् । सुरक्षा निकायले नदी तटीय क्षेत्रमा उच्च सतर्कताका साथ बगेर आएका शवहरू निकाल्ने काम गरिरहेको छ । उनले भने, “अहिलेसम्म १८ वटा शव भेटिएको छ । १२ वटा हातखुट्टाहरू भेटिएका छन् । अरु विवरण लिँदै छौँ ।” बाढीको बहावसँगै ती शवहरू आएको उनले बताए ।

बाढी नारायणगढसम्म आइपुग्दै गर्दा पानीको बहाव खतरा तहमा पुगेको छैन । प्रजिअ अर्यालका अनुसार चितवन यो बाढीका कारण जोखिममा परेको छैन । आमनागरिकलाई नदीमा सामान तान्न नजान आग्रह गर्दै उनले शवहरू देखिएमा खबर गर्न आग्रह गरे ।

नारायणी बेसिन फिल्ड कार्यालय भरतपुरका प्रमुख ई. सुमित अधिकारीका अनुसार देवघाटस्थित नारायणी नदीमा वहाव घट्न थालेको छ । यहाँ नौ मिटर कटेपछि खतरा मानिन्छ । छ दशमलव ८० मिटर पानीको सतह पुगेर घट्न सुरु भएको उनले जानकारी दिए । अब नदीको सतह घट्न थालेकाले खतरा टरेको उनको भनाइ छ ।

बाढीको जोखिमका कारण पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा दिउँसैबाट सवारी रोकिएको छ । पोखरातर्फ जाने सवारीसाधनलाई पठाउन सुरु गरिएको छ । पृथ्वी राजमार्गको धादिङमा सडक अवरुद्ध भएकाले त्यसतर्फ जाने सवारीसाधन रोकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले बताए ।

नारायणी नदीमा बाढी आउन सक्ने भन्दै आज दिउँसो नदी आसपासका विद्यालय बन्द गरिएका थिए । नदी तटीय क्षेत्रमा सुरक्षा निकायले माइकिङ गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *