काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले समाजकल्याण परिषद् र विश्वविद्यालयहरूबीच परियोजना मूल्यांकनसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर नयाँ अभ्यासको प्रारम्भ भएको बताएका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा परिषद् र विभिन्न विश्वविद्यालयबीच परियोजना मूल्याङ्कनसम्बन्धी समझदारीमा हस्ताक्षर समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कार्यक्रम नतिजामुखी बनाउन र कार्यान्वयन भइरहेको काम परिणाममुखी बनाउने प्रभावकारी माध्यम अध्ययन, अनुगमन र विश्लेषण भएको बताए।
सामाजिक क्षेत्र र समाज कल्याणका क्षेत्रका कार्यक्रम अनुगमनका अभावमा अलपत्र हुने जनगुनासोबीच आज पहिलो पटक रु एक करोडभन्दा तलका परियोजनामा विश्वविद्यालयका विद्यार्थी सहभागी गराएर परियोजना मूल्याङ्कन गर्ने कार्य प्रारम्भ गरिएको हो।
प्रधानमन्त्री ओलीले भने, ‘विद्यार्थीलाई अध्ययन, मूल्याङ्कनमा लगाउनु महत्वपूर्ण आयाम हो, अध्ययनबाट पुस्तकका ज्ञान मात्रै होइन, विद्यार्थीमा ज्ञान, सीपको विकास हुने र समाज विकासमा समेत सहयोग पुग्नेछ।’
यस्ता कार्यक्रमले सङ्घसंस्थाले गरेका कामको अनुगमन हुन्छ भन्ने सुनिश्चितता गराउँदै कार्यक्रम लागू गर्नेलाई पनि सावधानी अपनाउन प्रेरित गर्ने प्रधानमन्त्री ओलीको भनाइ थियो।
उनले यसले विगतका कमजोरी सच्याउँदै प्रभावकारी ढङ्गले अघि बढ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे।
‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य लिएर नयाँ अठोटका साथ मुलुक अघि बढिरहेको सन्दर्भ जोड्दै प्रधानमन्त्री ओलीले मुलुकको गन्तव्य भेट्न पनि अनुगमन मूल्याङ्कन जस्ता कार्यक्रमले मुख्य भूमिका खेल्ने बताए।
