प्रज्जवल थापा । इङलिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटीले शानदार जित निकालेको छ । आइतबार राति भएको खेलमा सिटीले लिभरपुललाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।
एन्फिल्डमा भएको खेलमा सिटीलाई जित दिलाउन इकाने गुन्डोगानले दुई गोल गर्दा रहिम स्टेर्लिङ र फिल फोडेनले एक/एक गोल गरे । लिभरपुलको लागि मोहम्मद सलाहले गरेको गोल सान्तवनामा सिमित रह्यो । सिटीले खेलको ३७ औं मिनेटमा अग्रता लिने मौका गुमाएको थियो । विपक्षी खेलाडीले स्टेर्लिङलाई पेनाल्टी क्षेत्रमा लडाएपछि पाएको पेनाल्टीमा गुन्डोगान गोल गर्न चुके ।

४९ औं मिनेटमा गुन्डोगान आफैले गोल गर्दै सिटीलाई खेलमा अगाडि बढाएका थिए । ६३ औं मिनेटमा मोहमद सलाहले पेनाल्टीमा गोल गर्दै लिभरपुललाई बराबरी ल्याएका थिए । ७३ औं मिनेटमा फिल फोडेनको पासमा गुन्डोगानले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीलाई फेरि खेलमा अगाडि बढाएका थिए ।
७६ औं मिनेटमा बेर्नार्डो सिल्भाको पासमा रहिम स्टेर्लिङले गोल गर्दै सिटीको अग्रता दोब्बर बनाए । ८३ औं मिनेटमा गाब्रियल जेससको पासमा फोडेनले गोल गर्दै सिटीलाई सहज जिततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा सिटी ४-१ गोलले विजयी भएको हो ।
जितसँगै सिटी २२ खेलमा ५० अङ्क जोड्दै लिगको शिर्ष स्थानमा यथावत रहेको छ ।
