नेपालस्थित राष्ट्रसंघले भन्यो: हाम्रा सबै कर्मचारीले यसै साता खोप लगाउने योजना छैन

काठमाडौं । नेपालस्थित राष्ट्रसंघ कार्यालले आफ्ना सबै कर्मचारीले यसै साता खोप लिनेबारे योजना नभएको प्रस्ट्याएको छ।

आइतबार राष्ट्रसंघ नेपालकी आवासीय समन्वयकर्ता सारा बेसोलो न्यान्तीले ट्वीट गर्दै आफ्ना सबै कर्मचारीहरूले यो हप्ता खोप लिने योजना नभएको प्रष्ट पारेकी हुन्।

सरकारले सोमबारबाट पत्रकार र कूटनीतिक नियोगका कर्मचारीलाई कोरोना भाइरसविरूद्धको खोप दिने भनेको छ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत खोप शाखा प्रमुख डा. झलक शर्मा गौतमका अनुसार पत्रकार, कूटनीतिक नियोग र संयुक्त राष्ट्र संघका कर्मचारी गरी झन्डै १९ हजारलाई सोमबारदेखि खोप दिने तयारी छ।

‘समाचारहरूमा आएअनुसार, युएनका सबै कर्मचारीहरूले यही हप्ता खोप लिने योजनामा सत्यता छैन,’ उनले उक्त ट्वीटमा लेखेकी छन्।

पहिलो चरणमा अग्रपंक्तिमा खटिने तथा स्वास्थ्यकर्मी‍लाई दिनुपर्ने मान्यता कार्यान्वयन गर्न राष्ट्रसंघले सरकारसँग मिलेर काम गरिरहेको उनले बताएकी छन्।

सरकारले प्राथमिकता तय गरेअनुसारको समूहमा रहेर खोप कार्यक्रममा सहयोग गर्ने उनले बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *