बागमती प्रदेशमा सरकारले अनुमान गरे भन्दा कम व्यक्तिले खोप लगाए

काठमाडौं । बागमती प्रदेशमा सरकारले अनुमान गरे भन्दा कम व्यक्तिले खोप लगाएको पाइएको छ।

प्रदेश सरकारले काठमाडौं उपत्यकामा मात्रै ५३ हजार २७ जनालाई खोप लगाउने लक्ष्य गरेको थियो। खोप लगाउने अन्तिम दिन शनिबारसम्म ४३ हजार २ सय ३८ ले खोप लगाएका हुन्‌। यो संख्या प्रदेश सरकारले आंकलन गरेभन्दा झन्डै १० हजारले कम हो।

त्यसैगरी, प्रदेश सरकारले कूल ७७ हजार ३ सय ५७ जनालाई खोप लगाउने लक्ष्य राखेको थियो। लक्ष्य बमोजिम खोप लगाउन भने प्रदेश सरकार विफल भएको छ। शनिबारसम्म ६३ हजार ३ सय ८ जनाले मात्र खोप लगाएका छन्।

बागमती प्रदेशमा अहिलेसम्म कूल ६३ हजार ३ सय ८ जनाले खोप लगाएका छन्। काठमाडौंमा ३१ हजार १ सय ५३, ललितपुरमा ९ हजार ६ सय ११, भक्तपुरमा २ हजार ४ सय ७४, रसुवा ४ सय ७, नुवाकोट १ हजार ५ सय ७६, धादिङ १ हजार ३ सय २४, चितवन ६ हजार ९ सय ७३, सिन्धुली १ हजार ९९, मकवानपुर १ हजार ४ सय १९,रामेछाप १ हजार ९२, दोलखा १ हजार ५ सय ३७, काभ्रेपलाञ्चोक ३ हजार ४ सय ७५ र सिन्धुपाल्चोकमा १ हजार १ सय ६८ जनाले खोप लगाएका हुन्‌।

लक्ष्य अनुसारको खोप किन लगाउन सकिएन भनी थाहाखबरले जिज्ञासा राख्दा स्वास्थ्य मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गुणराज लोहनीले लक्ष्यभन्दा केही कम भएपनि सोचे अनुसार व्यक्तिले खोप लगाएको दावी गरे।

उनले भने, ‘बागमती प्रदेशमा ८१.७ प्रतिशत मानिसले खोप लगाएका छन्। यो संख्यालाई कम भन्न मिल्दैन।‘ केही सामान्य कुराले मानिसलाई प्रभाव पारेको हुनसक्ने उनले बताए। उनका अनुसार खोप लगाएपछि केही साइड इफेक्ट भएका सामान्य कुराहरू बाहिर आएका थिए। तर, त्यस्तो असर गर्ने खालको कुनै पनि कुराहरू बाहिर आएनन्।

कोभिड खोपको बारेमा बाहिर मानिसमा मनोविज्ञान त्रास भएकोले पनि हुनसक्ने डा.लोहनीले बताए। पहिलो चरणको खोप अभियानमा मानिसहरूको उत्साहजनक सहभागी भएको बुझाई रहेको उनको भनाई छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *