इजिप्टमा दुई रेल आपसमा ठोक्किँदा सात जनाको मृत्यु, १०० भन्दा बढी घाइते

बीबीसी । इजिप्टको गिजा सहरनजिकै दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने १०० भन्दा बढी घाइते भएका छन् ।

इजिप्टको रेलवे प्राधिकरणका अनुसार गिजा र कायरोबाट दक्षिणतर्फ गइरहेका दुई रेल एकआपसमा ठोक्किएका थिए । दुर्घटनामा रेलका कैयौँ डिब्बा लिकबाट खसेर भीरमा पल्टिएका छन् ।

दुर्घटनास्थलमा उद्धारकर्मीहरूले पल्टिएका डिब्बाभित्र फसेका यात्रुको खोजी तथा उद्धार गरेका थिए । घाइतेहरूलाई तत्काल अस्पताल पुर्याइएको छ ।

इजिप्टका राष्ट्रपति अब्देल फताह अल–सिसीले दुर्घटनाको कारण अनुसन्धान गर्न र लापरबाही गरेको पाइएमा सम्बन्धित व्यक्तिलाई कारबाही गर्न सरकारी निकायलाई निर्देशन दिएका छन् ।

सरकारले दुर्घटनापछि प्रभावित क्षेत्रका अस्पताललाई उच्च सतर्कतामा राखिएको जनाएको छ । स्वास्थ्यमन्त्री डा. खालेद अब्देल गफ्फारका अनुसार घाइतेहरूको हड्डी भाँचिएको तथा टाउकोमा चोट लागेको छ । सरकारी अभियोजन कार्यालयले मृतकको संख्या अझै बढ्न सक्ने चेतावनी दिएको छ ।

दुर्घटनामा एक रेलका चालकको समेत मृत्यु भएको स्वास्थ्य मन्त्रालयले पुष्टि गरेको छ । इजिप्टियन रेडक्रसले घटनास्थलमा पीडित तथा उनीहरूका परिवारलाई राहत र मनोसामाजिक सहयोग उपलब्ध गराइरहेको जनाएको छ ।

प्रारम्भिक विवरणअनुसार गिजाबाट दक्षिणी कायरोस्थित फयुमतर्फ गइरहेको रेलले कायरोबाट अस्वानतर्फ जाने अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । दोस्रो रेल ट्र्याकमै रोकिएको अवस्थामा रहेको बताइएको छ ।

दुर्घटनाका कारण गिजाबाट माथिल्लो इजिप्ट क्षेत्रतर्फ सञ्चालन हुने रेल सेवा स्थगित गरिएको छ । दुर्घटनाग्रस्त रेल हटाउन क्रेनहरू परिचालन गरिएको रेलवे प्राधिकरणले जनाएको छ । सेवा कहिलेदेखि नियमित हुने भन्नेबारे भने स्पष्ट पारिएको छैन ।

दुर्घटना काफ्र अम्मार र अल–रक्का स्टेसनबीच अल–अय्यात क्षेत्रमा भएको हो । यही क्षेत्रनजिकै सन् २००२ को फेब्रुअरीमा इजिप्टको इतिहासकै भीषण रेल दुर्घटनामध्ये एक भएको थियो । कायरोबाट लक्सर जाँदै गरेको यात्रुवाहक रेलमा आगलागी हुँदा ३७० भन्दा बढी यात्रुको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *