प्रज्जवल थापा । साविक विजेता रियल म्याड्रिडलाई आज हुएस्काले आफ्नो चुनौती पेश गर्दै छ । स्पेनिस लिग ला लिगा अन्तर्गत हुने खेल नेपाली समय अनुसार बेलुकी ९:०० बजे शुरु हुनेछ ।
लिगको पुछारमा रहेको हुएस्काले आज घरेलु मैदानमा हुने खेल जित्दै लिगमा आफ्नो स्थान सुधार गर्न चाहन्छ । हाल हुएस्का लिगको २१ खेलमा १६ अङ्क जोड्दै अङ्क तालिकाको पुछारमा रहेको छ । हुएस्काले आफ्नो पछिल्लो ५ खेलमा मात्र एक खेलमा जित निकाल्न सकेको छ ।
यता रियल म्याड्रिडलेपनि लिगमा सोचेअनुरुप प्रदर्शन गर्न सकिरहेको छैन । पछिल्लो खेलमा लेभान्टेसँग २-१ गोलले स्तब्ध भएको म्याड्रिडले पछिल्लो ५ खेलमा मात्र एक जित निकालेको छ । म्याड्रिडको लागि जनवरी महिना बिर्सिनलायक रह्यो । यस्तै फेब्रअरीको शुरुवातमै म्याड्रिडलाई अर्को झट्का लागेको छ । टोलीका महत्वपूर्ण खेलाडी हजार्ड फेरी चोटको कारण ४-६ हप्ता मैदान बहिरिएका छन् ।
लिगमा म्याड्रिड २० खेलमा ४० अङ्क जोड्दै लिगको तेस्रो स्थानमा रहेको छ । दुई टोलीबिच भएको पछिल्लो ३ भेटमा सबै खेल म्याड्रिडले आफ्नो पोल्टामा पारेको थियो ।
