पर्वत । प्रधानमन्त्री केपी शर्मा ओलीले कुश्मा नगरपालिका–२ खुर्कोट र म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा स्थापना भएको नेपालकै दोस्रो ठूलो खुर्कोट–दाना सबस्टेशनको उद्घाटन गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको २२०/१३२ केभी कुश्मा सबस्टेशन तथा २२० केभी कुश्मा–दाना प्रसारण लाइन र २२०/१३२/३३ केभीको दाना सबस्टेशनको प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल उद्घाटन गरेका हुन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी भने कार्यक्रमस्थलमै पुगेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक ऊर्जाको क्षेत्रमा समृद्ध बन्दै गएको, विद्युत्भार कटौती अन्त्य भई विद्युत् निर्यात गर्ने अवस्थामा पुगेको तथा बाह्रै महिना विद्युतको निर्यात गर्न सकिने गरी आयोजनाको काम भइरहेको बताए ।
हाल सञ्चालनमा रहेका आयोजना पूरा भएपछि नेपाल छिमेकी देशलाई विद्युत् बिक्री गरी आयआर्जन गर्न सक्षम हुने भन्दै उनले निर्माणाधीन योजनालाई समयमै सम्पन्न गर्नका लागि निर्देशनसमेत दिए ।
प्रधानमन्त्री ओलीले एकदुई वर्षभित्र नेपालमा आवश्यक पर्ने विद्युत् आफैं उत्पादन गर्ने र वर्षायाममा बढी भएको विद्युत् भारत र बङ्गलादेशलाई निर्यात गर्ने गरी तयारी भइरहेको बताए । उनले मुलुकमा सडक यातायात, पुल, झोलुङ्गे पुल, तुइन विस्थापन र रेलसेवा सञ्चालनका सन्दर्भमा थुप्र्रै प्रगति भएको बताउँदै पूर्वपश्चिम रेलमार्ग पनि छिट्टै सञ्चालन गर्ने तयारी भइरहेको जानकारी दिए । ।
२० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्छौँ : ऊर्जामन्त्री
कार्यक्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले नेपालमा आगामी २० वर्षभित्र ४२ हजार मेगावाट विद्युत् उत्पादन गर्ने गरी संरचना निर्माण भएको बताए । उनले विद्युत् उत्पादनभन्दा पनि खपतको समस्या रहेको भन्दै परिमाणमा विद्युत् खपत गर्नुपर्ने ठूलो अवाश्यकता रहेको बताए ।
उनले विसं २०७२ मा ओली प्रधानमन्त्री र आफू ऊर्जामन्त्री हुँदा नेपालको ऊर्जा क्षेत्रमा विकास गर्ने गरी ९९ बुँदे गुरुयोजना बनाएको र त्यसैको जगमा उभिएर अहिले ऊर्जा क्षेत्रमा धमाधम काम भइरहेको बताए । उनले विगतमा झोलामा खोला हालेर हिँड्ने अवस्थालाई अन्त्य गरिएको बताउँदै सरकार टेक अर पे को नीतिअनुसार अघि बढेको बताए । उनले व्यवसायीले तोकिएको समयभित्र योजना सम्पन्न नगरे जरिवाना गर्ने र समयभित्रै सम्पन्न गरे विद्युत् खरीद गरिदिने नीति बनाएर सरकार अघि बढेको बताए ।



