काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुल्चोकमा धर्ना बसेका छन् । उक्त समूहले आयोजना गरेको आमहड्तालका लागि प्रचण्ड सडकमै धर्ना बसेका हुन् । धर्नामा बसेका नेकपा नेताहरूले दालमोठ, चिउरा र पानी अगाडि राखेका छन् ।
यसअघि जुलुसमा नाराबाजी गरेपछि प्रचण्डले फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुने बताएका थिए । प्रचण्डले पत्रकारहरूसँग कुरा गर्दै संयुक्त आन्दोलनका लागि राजनीतिक दलहरू, नागरिक समाज र अन्य पक्षसँग कुरा भइरहेको बताए ।
‘हामी माघ २८ गते विशाल प्रदर्शन गर्दैछौं । त्यसपछि पनि प्रतिगमन सच्चिएन भने फागुन पहिलो सातादेखि संयुक्त जनआन्दोलन हुन्छ । त्यसपछि केपी ओलीको आयु सकिन्छ,’ प्रचण्डले भने । उनले भोलि ओली समूहले नारायणहिटी दरबारअगाडि गर्न लागेको सभा पञ्चर्याली भएको बताए ।
‘२०४६ सालको जनआन्दोलन अघि पञ्चायतले पैसा दिएर लाखौं मान्छे ल्याएर र्याली गर्थ्यो। अहिले उहाँहरूले पनि त्यही गर्न लाग्नुभएको छ,’ प्रचण्डले भने, ‘हामीले जनआन्दोलन गरिरहेका छौँ । उहाँहरू पञ्च र्याली गर्दै हुनुहुन्छ ।’
संवैधानिक निकायका पदाधिकारीलाई संसदीय सुनुवाइबिनै सपथ खुवाएर प्रधानमन्त्री ओलीले भद्दा प्रतिगमन गरेको उनले बताए । ‘मैले त यसलाई जंगली राज भनेको छु,’ प्रचण्डले भने । प्रचण्ड सहभागी जुलुसमा कार्यकर्ताहरूले ‘आदेश देऊ प्रचण्ड हामी लड्न तयार छौँ’ लगायत नारा लगाएका थिए ।
