USAID

दार्चुलामा सडक पुगेसँगै बजार विस्तार, स्थानीय उत्पादन बिक्रीमा सहज


सन्तोष कार्की, दार्चुला । पाँच वर्ष अघिसम्म साविकको घुसा खण्डेश्वरीका स्थानीय वासिन्दा खाद्यान्न तथा लत्ताकपडा लिन मार्माको लटिनाथसम्म आउँथे । पाँच घण्टा पैदल हिँडेर लटिनाथ पुग्दा एक दिनको बास हुन्थ्यो । लटिनाथसम्म भर्खरभर्खर सडक पुग्दै थियो ।

बिटुले पारिबगर सडक खण्ड विस्तार भएसँगै बजार मार्मा गाउँपालिका–१ पारिबगर हुन गयो । यहाँसम्म सडकको पहुँच भएसँगै एक घण्टा पैदल दूरी घटेको थियो ।

पारिबगरबाट माथिल्लो क्षेत्र सडक उक्लिन भने निकै समय लाग्यो । गत वर्षको अन्त्यतिर मात्रै अपि हिमाल गाउँपालिकाको मकरीगाडमा सडक मार्गको पहुँच पुग्यो । अस्थायी ट्याक खुलेपछि अहिले साविकको घुसा खण्डेश्वरीका स्थानीयवासीलाई खाद्यान्नलगायतका उपभोग्य वस्तु लिन सहज भएको छ ।

अपि हिमाल–१ का स्थानीयवासी ललितसिंह लोथ्याल विकट गाउँ वस्तीमा सडकको पहुँच विस्तार हुँदै गएपछि यहाँका स्थानीयवासीलाई अहिले बजार आउजाउ गर्न सहज बनेको बताउँछन् ।

सदरमुकाम खलङ्गाबाट २३ कोष टाढा रहेको अपि हिमाल गाउँपालिकाको मकरीगाडसम्म नियमित रुपमा यातायात सञ्चालन हुन थालेपछि स्थानीयवासीको उत्पादनले समेत बजार पाउन थालेको छ ।

मल्देश भनेर चिनिने अपि हिमाल गाउँपालिका–५ मकरीगाडसम्म जीपलगायत अन्य साना ठूला यातायातका साधन चल्न थालेपछि स्थानीय उत्पादनले बजार पाउन थालेको हो ।

स्थानीय सरकारको गठनपछि भौतिक विकास निर्माणले केही रुपमा भए पनि गति लिएको अपि हिमालवासीले महसुस गरेका छन् । विकासको लागि सबै पूर्वाधार आवश्क परे पनि तीमध्यको सडक भनेको पहिलो आवश्यकता थियो अपि हिमालवासीको लागि । अहिले दार्चुलाका अधिकांश ग्रामीण बस्तीमा उत्पादित कृषि उपजले सहजरुपमा बजार पाउन थालेको छ ।

प्रत्येक बस्तीमा सडक पुर्याउने अपि हिमाल गाउँपालिकाको प्राथमिकताअनुसार ५ नम्बर वडाको मकरीगाडसम्म सडक पुगेको छ । पहिले गोरेटो बाटो भएको यस मकरीगाडमा स्थानीय सरकार आएपछि मात्रै सडक पुगेको हो । सडक पुगेपछि अपि हिमाल गाउँपालिकाको आलु, राजमा, प्याज, गोलभेंडालगायतले राम्रो मूल्य पाउन थालेको छ ।

गाउँमा उत्पादन भएको आलु मकरीगाडमै ५० रुपैयाँ किलोमा बिक्री हुने गरेको कृषक बताउँछन् । “अहिले सडक नपुगेको भए यहाँका किसानले यतिको मूल्य पाउने थिएनौँ’’, शिक्षक गोवद्र्धनसिंह धामीले भने ।

लटिनाथ बोकेर पुर्याउन सम्भव थिएन्, सडक सुविधा पुगेपछि उत्पादनको राम्रो मूल्य पाएको उनको भनाइ छ । गाउँमा पाइने दलहन बाली खरीद गर्न व्यापारी गाउँमै आउन थालेका छन् । विकासको लागि सडक चाहिन्छ भन्ने यसले पनि पुष्टि गरेको छ, शिक्षक धामीले भने ।

हालसम्म गाउँपालिकाका छ वडामध्ये एउटा वडामा पनि सडक सञ्जाल नजोडिएको अपि हिमाल गाउँपालिकाले अहिले अन्य पाँच वडामा सडक विस्तारको काम अगाडि बढाएको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले बताए । सबै वडामा सडक विस्तार गर्ने योजना छ ।

पहिले गाउँमा उत्पादन गरिएको आलु, सागपात, सिमीलगायत अन्य कृषि उपज सडक नहुँदा गाउँमै थन्किन्थ्यो, अपि हिमाल गाउँपालिकाको मकरीगाडका व्यापारी देवसिंह धामीले भने, “तर अब भने, बजारमा पुर्याउन सहज भएको छ ।” अहिले स्थानीयवासीले बिहानै मकरीगाडसम्म खच्चड र भरियामार्फत आफ्नो उत्पादन मकरीगाड बजारमा बिक्री गर्ने गरेका छन् ।

विगतमा लटिनाथसम्म पुर्याउनुपर्ने उत्पादन अहिले सहजरुपमा मकरीगाडमा बिक्री हुँदा उत्पादनको मूल्य पाउन थालेका छन् । अहिले ती विकट भनेर चिनिने बस्ती पुग्न अहिले सदरमुकाम खलङ्गाबाट पाँच/छ घण्टामै पुगिन्छ । सडक पुगेपछि अपि हिमालका स्थानीयवासीले सुगमताको अनुभव गर्न थालेका छन् । मकरीगाडमा सडक पुगेपछि अहिले बजार विस्तार भएको छ ।

अपि हिमाल गाउँपालिकाको वडा नम्बर १, २, ३ र ४ मकरीगाडभन्दा माथिका बस्ती हुन् भने वडा नम्बर ५ को विगतदेखिको बजार मकरीगाड नै हो । अहिले यो क्षेत्रमा दिनहुँ होटल तथा पसल खुल्ने क्रम बढेको बताउँछन् मकरीगाडका व्यापारी विसनसिंह धामी । मकरीगाडमा दुई दर्जन बढी साना–ठूला होटल तथा पसल सञ्चालनमा रहेका छन् ।

पाँच वडाको संयुक्त बजार मकरीगाड क्षेत्र बनेको छ । मकरीगाडमै मकरीगाड जलविद्युत् आयोजनाले १० मेगावाट जलविद्युत् उत्पादन गरेको छ । विद्युत् उत्पादन क्षेत्र भएको हुँदा यो क्षेत्रमा चहलपहल पनि निकै बढेको छ । सयौं युवाले जलविद्युत् आयोजनामा रोजगारी पाएका छन् । मकरीगाड क्षेत्रमा विस्तार भएको बजारका कारण व्यापार व्यवसाय पनि फस्टाउन थालेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *