इन्धन ढुवानीका लागि साझा सेवाका पाँच ट्याङ्कर सञ्चालनमा

काठमाडौं । साझा सेवा (सहकारी संस्था) ले इन्धन ढुवानी सेवाका लागि पाँच थान ट्याङ्कर सञ्चालनमा ल्याएको छ । सरकारी तथा सामाजिक सङ्घसंस्था मात्र शेयरधनी सदस्य रहेको उक्त संस्थाले अहिलेसम्म भाडाका साधनमा इन्धन ढुवानी गर्दै आएको थियो ।

करीब दुई करोड ५० लाख रुपैयाँको लागतमा खरीद गरिएको ट्याङकरले रक्सौलबाट काठमाडौँमा इन्धनको आपूर्ति गर्ने छ । काठमाडौँ उपत्यकामा चार र बनेपामा एक पेट्रोल पम्प सञ्चालन गरेको संस्थाले अनुदानित रासायनिक मल, ग्यास, सिमेण्टलगायत सामग्री सर्वसुलभ मूल्यमा पाँच दशकदेखि आपूर्ति गर्दै आएको छ ।

शुक्रबार आयोजित ढुवानी सेवाको उद्घाटन कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्ति सचिव वैकुण्ठ अर्यालले संस्थागत रुपमा प्रतिनिधित्व र राष्ट्रिय हितअनुरुपको सेवा दिन स्थापित संस्थाको आयआर्जनको मूल स्रोतका रुपमा आयल स्टोर रहेकाले संस्थाको क्षमता वृद्धिका साथै कारोवार बढोत्तरी गर्न निजी क्षेत्रसँग प्रतिस्पर्धा गर्न सुझाव दिँदै मन्त्रालयले गर्ने काममा संस्थालाई हरसम्भव सहयोग गरिने प्रतिबद्धता व्यक्त गरे ।

संस्थाका सञ्चालक समितिका अध्यक्ष नेत्रबहादुर भण्डारी, व्यवसायी लिलेन्द्र प्रधानलगायतले साझा सेवा सबैको साझा रहेको बताउँदै सरकारीस्तरमा खुलेको भए पनि निजी क्षेत्रसँग प्रतिस्पर्धा गरी अगाडि बढ्न शुभकामना दिए।

साझा सेवाका कार्यकारी निर्देशक दिनेश पौडेलले निकट भविष्यमा विषादीरहित साझा तरकारी बजार, नियमित रुपमा खाद्य वस्तुका सुपथ मूल्यका पसल सेवा, विद्युतीय परिवहन चार्जिङ स्टेशन जस्ता सेवाको थालनी गरिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *