४० निकाय आबद्ध हुने गरी भन्सारमा आजदेखि राष्ट्रिय एकद्वार प्रणाली

काठमाडौँ । अन्तर्राष्ट्रिय व्यापारलाई सरलीकृत गर्न भन्सार प्रक्रियामा राष्ट्रिय एकद्वार प्रणाली सुरु हुने भएको छ । ६९औँ अन्तर्राष्ट्रिय भन्सार दिवसको अवसरमा भन्सार विभागले भन्सारसँग सम्बन्धित सबै निकायलाई आबद्ध गराउने गरी उक्त प्रणाली आज सुरु गर्न लागेको हो ।

विभागका अनुसार यो प्रणालीमा पहिलो चरणमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, पशु सेवा विभाग र प्लान्ट क्वारेन्टाइन केन्द्र आबद्ध हुनेछन् । भन्सार प्रक्रियालाई कागजरहित बनाउँदै सरल बनाउने उद्देश्य राखिएको यो प्रणालीमा सरकारी र निजी क्षेत्रका ४० वटा निकाय आबद्ध हुनेछन् ।

डेढ वर्षअघिदेखि भन्सार विभागले निर्माण गरिरहेको उक्त प्रणालीअन्तर्गत निर्माण हुने वेब पोर्टलमार्फत व्यापारीले आफूसँग सम्बन्धित कागजात अनलाइनमै पेस गर्न सक्नेछन् । त्यसरी पेस गरिएको कागजात र त्यससँग सम्बन्धित विवरण यसमा आबद्ध निकायले समेत प्राप्त गर्न सक्नेछन् । यससँगै फरक फरक निकायलाई कागजात बुझाउनु पर्ने बाध्यताबाट व्यापारी मुक्त हुने बताइएको छ । अन्तर्राष्ट्रिय व्यापारसँग सम्बन्धित तथ्याङ्क तथा प्रतिवेदन प्रणालीलाई थप स्तरीय बनाउन र विद्युतीय भुक्तानी प्रणाली विकासमा पनि यो प्रणाली सहयोगी हुनेछ ।

आफूलाई प्राप्त युजरनेम र पासवर्डका आधारमा व्यापारसँग सम्बन्धित सबै कागजातको विवरण व्यापारीले त्यहीँ उपलब्ध गराउन सक्छन् । कर्मचारीको अनुहार नै नहेरी (फेसलेस) काम हुने वातावरण यसले बनाउँछ । सन् २०१३ मा यस्तो प्रणाली लागू गर्न विश्व बैङ्क र नेपाल सरकारबीच सम्झौता भए पनि विगत केही महिनायता मात्र यसको कार्यान्वयनका लागि तयारीका काम अगाडि बढेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *