प्रधानमन्त्री कप क्रिकेटमा एपीएफ र पुलिस तथा वाग्मती र आर्मी सेमिफाइनलमा भिड्ने

काठमाडौं । सशस्त्र प्रहरी बलको एपीएफ क्लब, नेपाल पुलिस क्लब, वाग्मती प्रदेश र नेपाली सेनाको त्रिभुवन आर्मी क्लब यहाँ जारी चौथो संस्करणको प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

समूह ‘ए’ बाट एपीएफ र आर्मी तथा समूह ‘बी’ बाट वाग्मती प्रदेश र पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेका हुन् । एपीएफ समूह ‘ए’ को विजेता र आर्मी समूह ‘बी’ को उपविजेता तथा वाग्मती समूह ‘बी’ को विजेता र पुलिसले समूह ‘ए’ को उपविजेता हुँदै सेमिफाइनलमा स्थान बनाएका हुन् ।

एपीएफ क्लब र पुलिस क्लबबीच माघ १४ गते पहिलो सेमिफाइनल तथा आर्मी र वाग्मती प्रदेशबीच माघ १५ गते दोस्रो सेमिफाइनल खेल हुनेछ ।

यसैबीच समूह चरणका अन्तिम दुई खेल आज सम्पन्न भएका छन् । एपीएफले आर्मी क्लबलाई ६ रनले तथा पुलिस क्लबले प्रदेश नं २ लाई सोमबार भएको खेलमा चार विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा त्रिभुवन आर्मी क्लबले टस जितेर फिल्डिङ रोजेको थियो । एपीएफले ४९ दशमलव चार ओभरमा सबै विकेट गुमाउँदै २४० रन बनायो । २४१ रनको विजय लक्ष्य आर्मीले ५० ओभरमा ८ विकेट गुमाएर २३४ रन मात्र बनाउन सक्यो ।

आर्मीका लागि अनिल मण्डलले ४५, राजेश पुलामीले ३३, रोहित पौडेलले ३०, विक्रम सोबले २८, भीम कार्कीले २७, लोकेश बमले २१, शाहब आलमले २० तथा आकाश चन्दले अविजित १६ रन बनाए ।

बलिङतर्फ एपीएफका कमलसिंह ऐरीले तीन तथा भुवन कार्कीले दुई विकेट लिए । यसअघि एपीएफका लागि ब्याटिङ गर्दै सुमित महर्जनले ४६, सुवास खकुरेलले ३८, सन्दीप जोराले २८, कप्तान शरद भेषवाकरले २४, बसन्त रेग्मीले २० तथा अमरसिंह रौटेलाले २६ रनको योगदान दिए ।

बलिङतर्फ आर्मीका हरि चौहान एक्लैले पाँच विकेट लिए । यस्तै साहब आलमले दुई तथा आकाश चन्द, सुशन भारी र विक्रम सोबले एक एक विकेट लिए ।

यसैगरी मुलपानी क्रिकेट मैदानमा भएको अर्को खेलमा टस हारेर ब्याटिङ गरेको प्रदेश नं २ ले ४७ ओभरमा ९ विकेट गुमाउँदै १६९ रन बनायो । जितका लागि १७० रनको विजयी लक्ष्य पछ्याएको पुलिसले ३८ ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

पुलिसका लागि अनिलकुमार शाहले अविजित ४७, कप्तान मञ्जित श्रेष्ठले अविजित १२, कुशल भुर्तेलले ४३, सुनिल धमलाले १३, अमित श्रेष्ठले १७ तथा दीपेन्द्रसिंह ऐरीले १७ रन बनाए ।

बलिङतर्फ प्रदेश २ का कुमार थापा र विवेक यादवले तीन तीन विकेट लिए । यसअघि पहिला ब्याटिङ गरेको प्रदेश–२ का लागि हरिशङ्कर साहले ५३, हिमान्शु दत्तले १६, रवि सिंहले १२, विशाल शुश्लिङले १२, आदिल अन्सारीले १५ तथा सुरज कुर्मीले १३ रन बनाए । बलिङतर्फ पुलिस क्लबका सागर ढकालले दुई, ललितनारायण राजवंशीले चार तथा पवन सरार्फले एक विकेट लिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *